मध्य नेपालमा उनासी जनामा स्वाइनफ्लु प्रमाणित
चितवन, १० चैत ।
चितवन जिल्लामा स्वाइनफ्लुका बिरामीको सङ्ख्या ह्वात्तै बढेर गएको छ । मौसम परिवर्तनसँगै बिरामीको सङ्ख्या पनि बढेर गएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार भरतपुर अस्पतालबाट
नमुना सङ्कलन गरी पठाइएका २६१ वटा नमुनामध्ये ७९ मा स्वाइनफ्लु प्रमाणित
भएको छ । जसमध्ये चितवनका मात्रै ६८ छन् भने नवलपरासीका सात, तनहुँ,
रुपन्देही, गोर्खा र पर्साका एक–एकजना भएको जिल्ला जनस्वास्थ्य कार्यालयका
कीट नियन्त्रक राम केसीले जानकारी दिनुभयो । स्वाइनफ्लु प्रमाणित भएकामध्ये
४२ महिला र ३७ पुरुष रहेका छन् ।
हालसम्म ३६७ को नमुना परीक्षणका लागि पठाइएकामा बाँकी १०६ को नतिजा आउन
बाँकी रहेको केसीले बताउनुभयो । यसअघि २०४ को नमुना परीक्षण गर्दा ५३ मा
स्वाइनफ्लु प्रमाणित भएकामा सोमबार आएको नतिजामा थप ५७ मध्ये २६ मा
स्वाइनफ्लु प्रमाणित भएको हो ।
स्वाइनफ्लुका बिरामीको सङ्ख्या एकाएक बढेपछि जिल्ला जनस्वास्थ्य
कार्यालयले जनचेतनामूलक कार्यलाई तीव्रता दिएको जनाएको छ । जिल्लाको सरकारी
भरतपुर अस्पतालमा नमुना सङ्कलन गरी तीव्र परीक्षणपश्चात् शङ्का लागेका
बिरामीको नमुना थप परीक्षणका लागि काठमाडाँै पठाइँदै आएको छ । चितवनमा गत
वर्ष ११ र अघिल्लो वर्ष १० मा स्वाइनफ्लु प्रमाणित भएको थियो । रुघाखोकी
लाग्ने, ज्यान दुख्ने, थकाइ लाग्ने लगायतका लक्षण भए तुरुन्त अस्पताल गएर
परीक्षण गर्न जिल्ला जनस्वास्थ्य कार्यालयले सबैमा आग्रह गरेको छ ।
बिरामीको सङ्ख्या थपिएसँगै जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विजय पौडेलले स्वाइनफ्लु
प्रमाणित भएका बिरामी उपचारपछि घर फर्किसकेको बताउनुभयो । नतिजा ढिलो आउने
हुँदा बिरामी उपचारपछि घर फकिइसके पनि उनीहरुलाई नतिजाको विषयमा जानकारी
दिने गरेको पौडेलले बताउनुभयो । बिरामी थपिएसँगै अस्पतालमा चिकित्सक तथा
स्वास्थ्यकर्मीलाई उच्च सतर्कता अपनाउन भनिएको उहाँले बताउनुभयो । दुईदेखि
तीन हप्तामा बिरामी घट्ने अपेक्षा रहेको पौडेलले बताउनुभयो । रासस



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्