परीक्षार्थीको होस्टेलमै मृत्यु भएको घटनाप्रति प्रहरी गम्भीर नभएको परिवारको आरोप
गत चैत १ गते कठार–५,चितवनको नेपाल आदर्श बोर्डिङ स्कुलमा एसएलसी तयारीका लागि होस्टेलमै बसेर तयारी गरिरहेका गौरबले झुन्डिएर आत्महत्या गरेको विद्यालयले जनाएको थियो ।
तर,परिवारले घटनाको प्रकृति र विद्यालयको व्यवहारले घटना आत्महत्या नभएर हत्या भएको आशंका उब्जाएको भन्दै यसबारे छानविन हुनुपर्ने माग गर्दै आइरहेको छ । मृतक गौरब बस्नेतका मामा कृष्णप्रसाद अर्यालले विद्यालयले आत्महत्या गरेको भनेर गरेको दाबीमा शंका गर्ने पर्याप्त आधार हुँदाहुँदै पनि प्रहरीले विद्यालयसँग मिलेर घटनाको छानविनमा चासो नदेखाएको आरोप लगाए । उनले कसैलाई जानकारी नदिई अस्पताल लग्नु र अस्पतालले मृत्यु भएको बताएपछि शव घरमा लगेर मात्र परिवारलाई खबर गर्नुले घटना आत्महत्या नभएर हत्या भएको हुनसक्ने आशंका उब्जिएको बताए ।
‘झुन्डिएर मरेको भनिएको व्यक्तिलाई प्रहरी र परिवारलाई समेत थाहा नदिई अस्पताल लगियो,’ अर्यालले रातोपाटीसँग भने,‘अस्पताल लग्दासमेत परिवारलाई थाहै नदिइ शव घरमा लगेपछि मात्रै बिरामी भएको भन्दै अस्पताल बोलाइयो । विद्यालयले अस्पताल लग्नु अघि नै परिवारलाई खबर नगरेर किन अस्पतालबाट शव घरमा लगेपछि मात्रै खबर गर्यो ? यसले आत्महत्या भन्ने विद्यालयको दाबीमाथि गम्भीर आशंका उब्जाएको छ ।’
परिवारले गौरबले आत्महत्या गर्ने कुनै कारण नै नभएको दाबी गर्दै विद्यालयले गन्जीमा पासो लगाएर आत्महत्या गरेको भनेर लगाएको दाबीमा कुनै सत्यता नभएको बताएको छ ।
गौरबको शरीरमा देखिएको नील डाम,कोठामा भेटिएको रगत र शरीरका विभिन्न भागमा कोपिएको पाइनुले पनि घटना आत्महत्या नभएर हत्या नै भएको परिवारको दाबी छ । ‘आत्महत्या गरिएको भनिएको मृतकको शरीरमा रगत र कोठामा रगत लत्पतिएको भेटिएको छ । शरीरमा कोपिएको र काटिएको समेत पाइएको छ । आत्महत्या गरेको भनिएको व्यक्तिको शरीरमा र कोठामा कसरी रगतको आहाल भेटियो ?’ गौरबका मामा कृष्णप्रसाद अर्यालले विद्यालयको दाबीप्रति आपत्ति जनाउँदै भने ।
मृतक गौरबका परिवारले आत्महत्या नभएर हत्या भएको भन्दै विद्यालयका प्रधानाध्यापक विन्दु पौडेल र वार्डेन सन्तोष पौडलमाथि किटानी जाहेरी समेत दिएको छ । उता,प्रहरीले भने घटनालाई गम्भीरतापूर्वक लिएर यसबारे अनुसन्धान भइरहेको बताएको छ ।
घटनाबारे अनुसन्धान गरिरहेका डिएसपी राजन अधिकारीले घटनालाई गम्भीर रुपमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको बताए । उनले घटनाको गाम्भीर्यतालाई बुझेर विशेषज्ञ चिकित्सकहरुको मेडिकल बोर्डबाटै पोष्ट मार्टम गराइएको जानकारी दिँदै पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै यसबारे थाहा हुने बताए । ‘प्रहरी प्रशासनले यो घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गरिरहेको छ,’ डिएसपी अधिकारीले रातोपाटीसँग भने,‘पोस्टमार्टम रिपोर्टपछि मात्रै यसबारे थप प्रष्ट हुन्छ । त्यसैले यसबारे अहिले धेरै बोल्नु उपयुक्त हुँदैन ।



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्