तिला नदी किनारमा बस खस्दा १८ को मृत्यु,दुई जना सकुशल बचे
2 चैत, जुम्ला । जुम्लाको रारालिहीमा सोमबार विहान भएको बस दुर्घटनामा १८
जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । दुई जना भने
शकुशल बचेका छन् ।
सदरमुकामबाट कालिकोटको नाग्मातर्फ जाँदै
गरेको ना ४ ख ४९७० नम्बरको बस विहान साढे ९ बजेतिर रारालिही गाविस-१ मा
सडकबाट झण्डै तीन सय मिटर तल तिला नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।
झण्डै ७० डिग्रीको जस्तो ठाडो भिरमा बस खसेपछि बस भिरमा ठोक्किँदै नदी
किनारमा बजारिएको थियो । नदी किनारमा ठूलठूला ढुंगाहरु छन् । दुर्घटनामा १३
जनाको घटनास्थलमै र ५ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक
ईन्द्रबहादुर साउदले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी दिपेन्द्रराज
पौडेलका अनुसार दुर्घटनाको कारण खुलेको छैन । तर, प्राविधिक हुन सक्ने
अनुमान गरिएको छ । ‘अहिलेसम्मको जानकारी अजुसार ओभर लोड, चालकले मादक
पदार्थ सेवक वा घुम्ती भएका कारण केही होइन’ प्रजिअ पौडेलले अनलाइनखबरसँग
भने-‘हामीले हेर्दा स्टेरिङले काम नगरेर हो की भन्ने देखिन्छ ।
बस सदुमुकामबाट छुट्दा २७ यात्रु, चालक, सहचालक र बसका मालिक गरी ३० जना थिए । बाटोमा दुई जना मात्र यात्रु थपेको पाइएको छ ।
दुई जना सकुशल बचे
बस दुर्घटनामा दुई जना भने सकुशल बचेका
भएका छन् । प्रजिअ पौडेलका अनुसार एक जना दुर्घटनापछि मोटरसाइकल चढेर घर
गएका छन् । अर्को एकलाई प्रजिअसहितको टोलीले अस्पतालमा भेटेको थिए । उनका
अनुसार बस हेर्दाहेदै छेउतिर हुँदै भिरमा खस्न पुगेको थियो ।
मृतक सबैको शनाखत
दुर्घटनामा बसका चालब र सहचालकसहित १८
जनाको ज्यान गएको छ । मृत्यु हुनेमा जुम्लाको महावै पातरखोला-९ का २१
वर्षीया देवु रोकाया, उनका तीन महिनाको छोरा, सोही वडाका १४ वर्षीय
जितेन्द्र अधिकारी, कालिकाखेतु-९ का ३५ वर्षीय रतन शाही र कालिकाखेतु-१ का
२० वर्षीया धनलक्ष्मी न्यौपाने छन् ।
तातोपानी-४ का सहचालक १७ वर्षीय रण कामी,
सनिगाउँ-८ का २५ वर्षीय चालक सागर बुढा, सनिगाउँ-२ का ५२ वर्षीय लालविरे
शाही र उनका ६ वर्षीय छोरा विजय र सनिगाउँ-५ का ४२ वर्षीया रती रोकाया पनि
दुर्घटनामा ज्यान गएको छ ।
यस्तै खराकोट ६ का २६ वर्षीय राजबहादुर
बुढा, बड्की-९ का ४० वर्षीया पम्फादेवी रावत, २० वर्षीय पुष्पराज आचार्य र
११ वर्षीय बिजु रोकायाको पनि बस दुर्घटनामा मृत्यु भएको छ । कालिकोटको
फुकोटका २५ वर्षीय नवराज तिरुवा, कालिकोटकै फोइमहादेव-४ का ५५ वर्षीया काली
बुढा, सोही वडाकै ५० वर्षीया रेशमकला बुढा र सोही वडाकै अर्का सहचालक २५
वर्षीय हर्क बुढाको ज्यान गएको प्रहरीले जनाएको छ ।
तीन घाइतेलाई कोहलपुर ल्याइयो
दुर्घटनामा गम्भीर घाइते भएका मध्ये
जुम्ला सनिगाउँ-९ का २४ वर्षीया हिमाली रोकाया, ३५ वर्षीया शिवकली रोकाया र
चन्दननाथ नगरपालिका-९ का ४६ वर्षीय कलिमान सार्कीलाई उपचारका लागि
हेलिकप्टरबाट बाँकेको कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको छ ।
अन्य घाइतेहरुको जुम्ला सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्