बहादुर पुन जसले एक्लै ३० भन्दा बढी तालिवानी पन्छाए
पाँच वर्षअघि एक गोर्खा सैनिकले एक्लै तीसभन्दा बढी तालिबानी परास्त
गरेकाले बेलायती महारानीबाट ‘कन्स्पीक्यूअस ग्यालेन्ट्री क्रस’ अवार्ड
पाएका थिए। उनी हुन् दिपप्रसाद पुन।
त्यतिबेला ३१ वर्षीय पुनको चेकपोष्टमा जब एक हुल तालिबानीहरुले आक्रमण गरे,
उनलाई ‘अब म पक्का मर्छु’ भन्ने लागेको थियो। ‘मर्ने नै भइसकेपछि अब
गुमाउनु केही छैन’ भन्दै उनले तत्काल जाइलाग्ने निर्णय गरे।
त्यसैको प्रतिफलमा उनलाई बेलायतको महारानीले भिक्टोरिया क्रसभन्दा केवल एक
दर्जा मुनीको यो अवार्ड प्रदान गरेकी थिइन्। भिक्टोरिया क्रस बेलायतमा
दुश्मनविरुद्धको मुकाविलामा बहादुरी देखाउनेहरुले पाउने सर्वाधिक महत्वको
पुरस्कार हो। उनका आफ्नै हजुरबुबा तुलबहादुर पनले दोस्रो विश्व युद्वमा
बहादुरी देखाएवापत भिक्टोरिया क्रस पाएका थिए।
‘रोयल गुर्खा राइफल्स’को पहिलो बटालियनमा कार्यरत कारपोरल पुनलाई बकिंघम
दरबारमा एक विशेष समारोहका बीच त्यतिबेला यो अवार्ड दिइएको थियो।
‘यो समारोह मलाई पछिसम्मकै निम्ति गौरवशाली घटना भएको छ,’ थुप्रै
भिक्टोरिया क्रस पाउने बहादुरहरूको मुलुकबाट पुगेका पछिल्ला पुस्ता पुनले
त्यतिखेर भनेका थिए।
आफूसँग भएका विष्फोटकहरू सबै सकिएपछि पनि उनले हार खाएनन्। पर्खाल चढ्न
खोजिरहेको एक तालिबानीलाई उनले मेशिनगनको कुन्दाले हिर्काएरै ठहरै बनाइदिए।
‘त्यो बेला म आँत्तिएको थिइनँ, किनभने मसँग लड्नुबाहेक त्योबेला केही कुरा
सोच्ने पनि विकल्प थिएन,’ उनी भन्दै थिए, ‘चारैतिरबाट तालिवानले म एक्लोलाई
घेराबन्दी गरेको थियो।’
त्यतिबेला यति धेरै तालिबान थिए कि उनलाई अब मर्नै छ भन्ने पक्का भइसकेको
थियो। ‘त्यसैले उनीहरुले मलाई मार्नुभन्दा पहिले जतिलाई सक्छु म मारिदिन्छु
भनेर एकोहोरो लडिरहेँ,’ उनले भने, ‘मैले दुश्मनको सफायाबाहेक केहि
सोचिनँ।’
आफू सुरक्षित रहेको महसुस गरिरहेका बेला अचानक यो अवस्था आएको थियो। ‘तर, म
भयभीत भइनँ,’ पुन भन्छन्, ‘तालिवानसँग हाम्रो आमनेसामने भएर लड्ने हिम्मत
छैन।’
सेनाको कारपोरल पदमा भए पनि त्यतिखेर कार्यवाहक सर्जेन्टका रुपमा खटिएका
पुनले एउटा सानो आधार शिविरको सेन्ट्री बसिरहेकै बेला सुरुमा केही अनौठो
आवाज सुनेपछि सतर्कता अपनाएका थिए। सुरूमा त उनलाई कुनै गधा वा गाईले
त्यस्तो आवाज उत्पन्न गरेको होला भन्ने लागेको थियो। तर, जब उनी खोज्दै
निस्के त्यहाँ त दुई जना आतंकवादीले चेकपोष्ट अगाडिकै ढोका छेउमा खाल्डो
खन्दै विष्फोटक हाल्न खोजिरहेको पो देखे।
उनलाई आफू चारैतिरबाट तालिबानको घेराबन्दीमा परिसकेको महसुस भयो।
तालिबानहरु अब पूर्वनिर्धारित योजनाअनुसार आफूले सुरक्षा गरिरहेको परिसर
कुल्चँदैछन् भन्ने उनलाई लाग्यो।
लगत्तै दुश्मनले चारैतिरबाट फायर खोले। केही मिनेटअघि मात्र सेना बसिरहेको सेन्ट्रीलाई ध्वस्तै बनाए।
१५ मिनेटभन्दा बढी लगातार उताबाट आइरहेको ग्रिनेड र एके ४७ का प्रहारहरुलाई
उनले छानामाथि एक्लै बसेर जवाफी हमला गर्दै बेसको रक्षा गरिरहे।
अधिकांश हमलाकारीहरू उनीभन्दा केवल ५० फिट दुरीमा थिए। तर, त्यति नै बेला
उनी फनक्क घुम्दा एउटा विशाल तालिवानीले झण्डै उनलाई छोपिसकेका रहेछन्।
यसरी पछाडिबाट हमला हुनै लागेको रहेछ। उनले तुरून्तै मेशिनगन उठाए र त्यस
विशाल तालिवानीलाई छानाबाट लड्ने बेलासम्म लगातार गोली हिर्काइरहे।
त्यतिन्जेल उनी बसेको स्थानमा अर्को आतंकवादी उक्लनै थालिसकेको थियो। पुनले
आफूसँग भएको एसए ८० राइफल उठाएर चलाउन खोजे। तर, त्यो बन्दुकले कामै गरेन।
या त त्यसमा गोली थिएन वा जाम भएको थियो।
उनले छेवैमा रहेको बालुवाको बोरा उठाए। तर, राम्रोसँग नबाँधिएकोले त्यसका बालुवा सबै भुइँभरि पोखियो।
त्यतिबेलै उनी भित्रको नेपाली रगत उम्लियो। हातमा मेशिनगनको ट्राइपोड थियो।
उनले त्यसैलाइ उज्याएर जोडले प्रहार गरे। ठीक त्यतिबेला आक्रोशित
अनुहारबाट नेपाली आवाज निस्केको थियो, ‘मार्छु तँलाई।’ त्यो ट्राइपोडले
लागेर त्यस उक्लँदै गरेको तालिवानी खुत्रुक्कै भुइँमा झरेको थियो।
पुनले आफूसँग भएको सम्पूर्ण विष्फोटक प्रयोग गरिसकेका थिए। अब प्रहार
गर्नलाई केही बचेको थिएन। उता दुई जनाले अझै आक्रमण गर्दै थिए। यस्तो
अवस्थामा उनले ‘क्लेमोर माइन’ (धराप) राख्न सुरू गरे।
ठीक त्यतिबेलै उनको कम्पनी कमाण्डर मेजर सउन च्याण्डलर आइपुगे। उनको काँधमा थप्थपाउँदै अवस्था बारे जानकारी मागे।
यो अवधिभर उनले मेशिनगनले २ सय ५० फायर, एसए ८० राइफलले एक सय ८० फायर, छ
वटा फस्फोरस ग्रिनेड, छ वटा सामान्य ग्रिनेड, पाँचवटा ग्रिनेड लन्चर र एउटा
‘क्लेमोर माइन’ प्रयोग गरिसकेका थिए।
(यो घटनालगत्तै अन्तर्राष्ट्रय सञ्चार माध्यममा प्रकाशित रिपोर्टहरुमा आधारित।)



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्