किन भयो काबुलमा नेपालीमाथि आक्रमण ?
तालिवानी आतंकवाद र नेपालको 'कनेक्सन' !
असार, काठमाडौं । अफगानिस्तानको राजधानी
काबुलमा तालिवानको आक्रमणमा १२ नेपालीको मृत्यु भएपछि धेरै नेपालीको मन
रोएको छ । सम्वन्धित परिवार र आफन्त शोकमा छन् । र, यो आँशु र शोकसँगै सबै
नेपालीको मन मस्तिष्कमा प्रश्न उठेको छ, आखिर
किन तालिबानीहरुले नेपाली
नागरिकमाथि निशाना बनाए ?
नेपालीहरु वैधानिक र अवैधानिक बाटो भएर
अफगानिस्तानमा मात्र होइन, इराक, सिरिया जस्ता द्वन्द्वग्रस्त देशमा काम
गर्न पुगेका छन् । काबुलमा मारिएका नेपालीहरु राम्रो तलबको लोभमा ज्यान नै
जोखिममा हालेर त्यहाँँ पुगेका हुन् ।
नेपालीहरुले अफगानिस्तानमा सुरक्षागार्डका
रुपमा काम गर्न थालेको भर्खर पनि होइन । बर्षौंसम्म सुरक्षित रहेका
नेपालीमाथि आखिर तालिवानले किन आक्रमण गर्यो त ? शायद सरकारले अब यो
प्रश्नको जवाफ खोज्ला ।
तर, अहिलेसम्म आएको तथ्यलाई विश्लेषण गर्दा नेपालीमाथि आक्रमणका दुई कारण प्रष्ट देखिएका छन्:
पहिलोः सुरक्षा असावधानीअफगानिस्तानमा क्यानेडियन मात्र होइन, बेलायती, अमेरिकी दूताबासको सुरक्षामा समेत नेपालीहरु खटिएका छन् । सेक्युरिटी कम्पनीहरुले नेपाली भूपू सैनिक तथा गैरसैनिक युवालाई त्यहाँ लगेका छन् ।
र, झण्डै १ लाख रुपैयाँ मासिक तलब हुने
भएपछि नेपाली युवा ज्यान हत्केलामा राखेर आफगानिस्तान पुगेका हुन् । तर,
सोमबार १४ नेपालीको ज्यान जाने गरी तालिबानले आत्मघाती आक्रमण गरेपछि
अफगानिस्तानको गन्तव्यमाथि नेपालीहरु निराश बनेका छन् ।
तालिबानले आक्रमण आफ्नै उद्देश्यका लागि
गर्यो होला । तर, क्यानेडियन दूतावासले नेपालीहरुको सुरक्षामा निकै
असावधानी अपनाएको पाइएको छ । बेलायती कम्पनीले नेपालीलाई दूताबासको
सुरक्षामा खटाएको थियो । तर, कम्पनीले उनीहरुको सुरक्षामा उचित बन्दोबस्त
गरेको देखिएन ।
दूताबासको सुरक्षार्थ खटिएका एक नेपालीले
बताएअनुसार उनीहरुलाई सुरुदेखि नै बासस्थानबाट दुताबाससम्म ल्याउन लैजान
समान्य बसको प्रयोग गरिँदै आएको थियो । जबकि राम्रा कम्पनीहरुले बुजेट
प्रुफ गाडी प्रयोग गर्ने गरेका छन् । सडकमा हिँड्दा स्कटिङ र सुरक्षा
चेकजाँच गर्ने गर्नुपर्ने व्यवस्था छ । तर, जो मारिए, उनीहरुका हकमा
कम्पनीले कहिल्यै त्यसो गरेन ।
दूताबासमा खटिँदा आधुनिक हतियार बोक्ने
गरे पनि बाहिर निस्केपछि उनीहरु सर्वसाधारणजस्तै खाती हात हुन्थे । त्यसैले
बसमा हिँडेका नेपालीहरुमाथि निशाना बनाउन तालिवानीलाई सहज भयो । त्यहाँ
कार्यरत एक नेपालीले अनलाइनखबरसँग भने, ‘हाम्रो कम्पनी राम्रो भएको भए
सुरक्षा सावधानी अपनाउँथ्यो र हिजोको दुःखद घटना नहुन सक्थ्यो ।’
दोस्रोः अफगान युद्धमा नेपालीको संलग्नता
अमेरिकी आक्रमणपछि तालिबान फेरि हिंसात्मक
विद्रोहको बाटोमा गयो । र, अहिलेसम्म त्यहाँ गृहयुद्ध चलिरहेको छ ।
अमेरिकी सेनाको नेतृत्वमा नेटो फौजले झण्डै डेढ दशक तालिबानसँग युद्ध लड्यो
।
यो युद्धमा कहीँ न कहीँ नेपाल जोडियो ।
नेपाली सेना प्रत्यक्षरुपमा लड्न त गएन । तर, बेलायती सेनामा रहेका गोर्खा
सैनिकहरु तालिबानविरुद्ध लड्न गए । नेपाली सेनाले तालिबानलाई मारेका
वीरताका धेरै कथाहरु प्रकाशित भए ।
यसले कहीँ न कहीँ तालिबानलाई उत्तेजित
बनायो । अहिले पनि तालिबानको प्रमुख शत्रु पश्चिमाहरु नै हुन्, जसलाई उसले
आक्रमणको निशाना बनाउँदै आएको छ । तर, नेपालीहरु कहीँ ब्रिटिस गोर्खा
सैनिकका रुपमा त कहीँ सुरक्षागार्डका रुपमा पश्चिमाहरुको सहयोगीका रुपमा
देखिए । र, आक्रमणको निशानामा परे ।
नेपाली सेनाका पूर्वउपरथी केशरबहादुर
भण्डारीले अनलाइनखबरसँग भने, ‘तालिबानले पश्चिमाहरुलाई दुश्मन मान्छ । र,
पश्चिमाहरुलाई सहयोग गरेकाले हामीलाई पनि दुश्मनै मानेको हुनुपर्छ ।’
भण्डारीले अघि भने, नेपालको नेम एण्ड फेम
तथा अनेक कारणले अहिलेसम्म यसरी ठूलो अक्रमण गरेका थिएनन् । तर, काबुल
घटनाबाट उनीहरुले हाम्रोविरुद्धमा लाग्ने कोही पनि अछुतो छैनन् भन्ने
सन्देश दिन खोजेको देखिन्छ ।’
तालिबान र नेपालको कनेक्सन के छ ?
तालिबानीहरु र नेपालीवीच खासै त्यस्तो
कुनै कनेक्सन देखिँदैन । तर, यसका केही बाछिटाहरु चाँहि देखिने गरेका छन्
। सन् १९९९ डिसेम्बरमा काठमाडौंबाट अपहरणमा परेको इण्डियन एयरलाइन्सको
विमान अफगानिस्तानको कान्दाहार पुर्याइएको थियो । र, घण्टौंको वार्तामा
भएको समझदारीअनुसार भारतीय जेलमा रहेका मौलाना मोसुद अजरलाई बुझाइएको थियो ।
उक्त विमान कान्दहारपछि दुबई लगेर छाडियो । तर, ती अपहरणकारीहरुलाई अफगान
सरकारले आश्रय दिएको मानिन्छ । सम्भवतः यही घटनाले सम्भवतः तालिबानलाई
नेपाल र नेपालीलाई चिनायो ।
विमान अपहरणको दुई वर्ष नबित्दै २००१
सेप्टम्बर ११ मा अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र ट्वीन टावरमा आतंकवादी
आक्रमण भयो । यसमा अमेरिकाले अलकायदालाई जिम्मेवार ठहर्याउँदै उसका नेता
ओसामा विन लादेन अफगानिस्तानमा रहेको र उनलाई तालिबानले संरक्षण दिएको
बतायो ।
विन लादेनलाई पक्राउ गर्न भन्दै अमेरिकाले
नेटो सेनाको सहयोगमा अफगानिस्तानमा आक्रमण गर्यो र, अफगानको सत्तामा
रहेको तालिबानलाई हटाइयो ।तालिबान सुन्नी मुस्लिमहरुको समूह हो र उनीहरु
राज्यसत्ता कब्जा गरेर सरिया कानुन लागू गर्न चाहन्छन्।
तालिवान सत्ताबाट हटेपछि नेटोको सुरक्षा
घेरामा भएको चुनावबाट हमिद कारजाई अफगानिस्तानको सत्तामा आए । अहिले असरफ
घानी त्यहाँको राष्ट्रपति छन् । तर, गृहयुद्ध रोकिएको छैन । तालिबानले
अफगानिस्तानको करिव ४ प्रतिशत भूभाग नियन्त्रणमा लिएको अनुमान छ ।
अमेरिकाले सन् २००३ मा इराकमाथि पनि
आक्रमण गर्यो र सद्दाम हुसेनलाई पदच्युत गरेर फाँसी दिइयो । तर,
अमेरिकालाई अफगान र इराक युद्ध निकै महंगो सावित भइसकेको छ । दुबै देशमा
बिद्रोह चलिरहेको छ र हजारौं मारिएका छन् ।
अमेरिकी राष्ट्रपति बाराक ओमाबाले २००८ को
राष्ट्रपति चुनावमा अफगानिस्तानबाट सेना फिर्ता ल्याउने एजेण्डा अघि सारे ।
र, उनी अहिले दोस्रो कार्यकालको अन्त्यतिर छन् । आबामाले २०१४ मा अफगान
युद्ध अन्त्य भएको घोषणा गरेका थिए र लगत्तै २०१६ को अन्त्यसम्म सबै
अमेरिकी सेना फिर्ता गर्ने बताएका छन् ।
अफगानका नयाँ राष्ट्रपति घानीले गृहयुद्धको समस्या सैन्य बलबाट मात्र नभई वार्ताबाट गर्ने बताए । तर, तालिबानले विदेशीबाट सञ्चालित भन्दै वार्ता गर्न मानेनन् ।
अफगानिस्तानमा जाडोको समय धेरै चिसो हुन्छ, जसका कारण युद्ध केही सिथिल भएको मानिन्छ । तर, वसन्त ऋतु सुरु भएपछि रमजानको केही साताअघि तालिबानको सक्रियता बढ्छ र विभिन्न नाममा अपरेशन सुरु गर्छन् ।
अफगानका नयाँ राष्ट्रपति घानीले गृहयुद्धको समस्या सैन्य बलबाट मात्र नभई वार्ताबाट गर्ने बताए । तर, तालिबानले विदेशीबाट सञ्चालित भन्दै वार्ता गर्न मानेनन् ।
अफगानिस्तानमा जाडोको समय धेरै चिसो हुन्छ, जसका कारण युद्ध केही सिथिल भएको मानिन्छ । तर, वसन्त ऋतु सुरु भएपछि रमजानको केही साताअघि तालिबानको सक्रियता बढ्छ र विभिन्न नाममा अपरेशन सुरु गर्छन् ।
योपटक अपि्रल १२ मा अपरेशन ओमारी सुरु
गरेका छन् । यो अमेरिकी कारबाहीमा मारिएका पूर्वनेता मुल्लाह मोहम्मद
उमारको नाममा सुरु भएको हो । यसको उद्देश्य आत्मघाती आक्रमण चर्काउने,
हाइप्रोफाइल आक्रमण गर्ने र आत्मघाती हमला बढाउने छ, जसले विदेशी सेनाको
मनोबल गिराउनेछ ।
मे २२, २०१६ सम्म आइपुग्दा तालिवानको
बागडोर अख्तर मन्सुरले सम्हालिरहेका थिए । उनी अमेरिकी ड्रोन आक्रमणमा
मारिए । उनी कट्टरपन्थी मानिन्थे । तर, अहिलेका नयाँ नेता अखुनजाँदा उनी
भन्दा पनि कट्टरपन्थी छन् ।
जुलाई पहिलो साता मात्र पाकिस्तानको मुर
शहरमा अमेरिका, चीन र पाकिस्तान सम्मिलित भएर तालिबान प्रतिनिधि र एक अफगान
मन्त्रीबीच वार्ता भएको थियो । रमजानपछि फेरि वार्तामा बस्ने सहमति भएको
पाकिस्तानको दाबी छ ।
तर, तालिबानले आफ्नो आतंकवादी गतिविधि
रोकेको छैन, जसको पछिल्लो प्रमाण नेपाली सुरक्षागार्डमाथिको आक्रमण हो ।
तालिबानहरु अब अमेरिकी सेनाले छाड्दैछ, हामीले जित्छौं भन्ने मानसिकतामा
रहेको बताइन्छ ।
र, अबको चुनौती
काबुल आक्रमणलाई लिएर तालिवानले उसले कोही
अछुतो छैन भन्ने सन्देश दिएको छ । तालिवानले नेपालीहरुलाई निशाना बनायो
भन्ने निष्कर्षमा पुगिहाल्न हतार होला । तर, यो गम्भीर प्रश्न हो । यसबारे
सरकार गम्भीर हुनुपर्ने सुरक्षाविदहरु बताउँछन् ।
यदि तालिबानले नेपालीलाई नै निशाना बनाएको
हो भने सरकार बेलैमा सचेत हुनुपर्छ । किनकि अफगानिस्तानमा धेरै नेपाली
छन्, जो सुरक्षा गार्ड वा अमेरिकी सैन्य क्याम्पमा काम गर्छन् ।
सैन्यविद डा. इन्द्रजित राई नेपालीलाई निशाना बनाएको भए अवस्था गम्भीर हुन सक्ने बताउँछन् ।



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्