सरकारले सुरु गर्दैछ एक घण्टाका लागि लोग्ने भाडामा लिने सेवा
समाचार सुन्दा तरंगित हुनुभयो होला, तर हुनु पर्दैन । किनकी यो सेवा नेपालमा होइन रुसको राजधानी मस्कोमा सुरु हुन लागेको हो ।
घरमा साह्रो गाह्रो काम गर्ने लोग्ने मान्छेको अभावमा मुस्किल झेलिरहेका
महिलाहरुको लागि लक्षित गर्दै मस्को नगर प्रशासनले ‘एक घण्टाका लागि
श्रीमान’ सेवा सुरु गर्न लागेको मस्को टाइम्सले जनाएको छ ।
सिटी हलको सामाजिक सुरक्षा विभागका उपप्रमुख आन्द्रे बेस्तान्कोका
अनुसार यसरी भाडामा लिइएका ‘लोग्ने’ ले सम्बन्धित महिलाको घरमा पुगेर
पुरुषले गर्ने भनेर परम्परागत रुपमा छुट्टाइएका विभिन्न साह्रोगाह्रो
कामहरु गरिदिनेछन् । जस्तै चुहेको पाइप मर्मत गरिदिने, सिलिङ ठोकिदिने, पेच
कसिदिने आदि ।
हुनत मस्कोमा यसअघि पनि विभिन्न खाले निजि कम्पनीहरुले यस्तै
मिल्दोजुल्दो सेवा उपलब्ध गराउने गरेका छन् । तर त्यसका लागि चर्को शुल्क
लिन्छन् । निजि कम्पनीहरुले भाडामा लोग्ने मिलाइदिने सेवामा युवतीहरुलाई
बढि लक्षित गरिएको छ र त्यस्ता भाडाका लोग्नेहरुलाई उनीहरुले यौन
सन्तुष्टिका लागि समेत उपयोग गर्न सक्छन् ।
तर मस्को प्रशासनले सरकारी तबरमा सुरु गर्न लागेको पछिल्लो सेवा भने
सेवा खासगरी ६० वर्ष नाघेका महिलाहरुका लागि लक्षित हुनेछ । न्युन आय भएका
परिवारका लागि सित्तैमा उपलब्ध हुनेछ । मध्यम आयस्तरका परिवारले भने न्यून
शुल्क तिरे पुग्नेछ । आफुलाई भाडामा एकघण्टे लोग्ने चाहिएको भनेर माग गरे
लगत्तै सरकारले स्थानीय कम्पनीहरुसँग सहकार्य गरी सिपालु तथा सुन्दर र
कामकाजी युवाहरुलाई महिलाको घरमा पठाइदिनेछ । काम फत्ते गरेपछि युवक आफ्नो
घरमा फर्किनेछ ।
रुसमा पुरुषको औषत आयु महिलाको भन्दा निकै कम भएको हुँदा धेरै
वृद्धाहरुले विधवाको रुपमा एकल जिवन बिताइरहेका छन् । घरमा लोग्ने मान्छे
नहुँदा र परिवारका अन्य सदस्यहरु समेत साथमा नहुँदा उनीहरुको दैनिकी कष्टकर
बनेको छ । सोही कुरालाई मध्यनजर राख्दै सरकारले यस्तो सामाजिक सुरक्षाको
कार्यक्रम अघि सारेको हो ।



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्