के होला २०७२ सालमा ?
काठमाडौं, चैत ४ – ज्योतिषीले गर्ने भविष्यवाणीमा कसैलाई विश्वास लाग्छ,
कसैलाई लाग्दैन । तर विश्वास नगर्नेहरुले पनि के रहेछ भविष्यवाणी भनेर चासो
चाहिँ राख्छन् । हरेक वर्ष पात्रो बनाउँदा ज्योतिषीहरुले वार्षिक, मासिक र
दैनिक भविष्यवाणी गरेका हुन्छन् ।
आउँदो नयाँ वर्ष २०७२ सालको वार्षिक भविष्य फल पनि ज्योतिषीहरुले
प्रकाशित गरिसकेका छन् । तर धेरै भविष्यवाणी अघिल्ला वर्षहरुमा गरेको हुबहु
मिल्छ । केही बुँदा मात्र थपघट गरिएका छन् । ज्योतिषी पण्डित तोयनाथ
पन्तद्वारा प्रकाशित पञ्चाङ्ग अनुसार २०७२ सालको वार्षिक फल यस्तो छ :
राजा शनिले मन्त्री मंगललाई खासै राम्रो नगर्ने मन्त्रीले भने राजालाई
सामान्य भावना राख्ने प्रवृति होला । समाजमा केही उच्छृँखल गतिबिधि नहोला
भन्ने छैन । राज्य संचालनमा राजा र मन्त्रीबीच आपसी समन्वयको कमीले कतिपय
राष्ट्रिय हितका विकास निर्माणकार्य अधुरै रहँदा आर्थिक सन्तुलन स्थिर हुन
नसक्ला । आवश्यकता भन्दा अहमता प्रदर्शन गर्नाले राजनैतिक दल प्रति निराशा
छाउला । तर पनि समग्रमा सन्तोषजनक अवस्था आउला ।
लुच्चा, लफंगा, फटाहाको अग्रसरता घट्ने प्रवलता पनि नभएको होइन । चोरी,
डकैती, लुटपाट, हत्या, बलात्कार जस्ता अशोभनीय घटनाहरु पूर्ण रुपमा
नियन्त्रणमा नआउला ।
आशालाग्दा केही उद्योगधन्दा खुले पनि बेरोजगारी समस्याको समाधान भईहाल्ने स्थिति देखिंदैन । वैदेशिक सहयोगले कुनै उल्लेखनीय सफलता देखाउन नसक्ला । नयाँ कार्यक्रमको उद्घोष भएपनि पूर्णता भने आर्थिक अभावले सफल होला जस्तो लाग्दैन ।
आशालाग्दा केही उद्योगधन्दा खुले पनि बेरोजगारी समस्याको समाधान भईहाल्ने स्थिति देखिंदैन । वैदेशिक सहयोगले कुनै उल्लेखनीय सफलता देखाउन नसक्ला । नयाँ कार्यक्रमको उद्घोष भएपनि पूर्णता भने आर्थिक अभावले सफल होला जस्तो लाग्दैन ।
आधुनिक प्रविधिको विकासले फड्को मार्न थालेपनि संक्रामक तथा प्राणघातक
रोगव्याधको समाधानमा स्वास्थ्य विज्ञानको क्षेत्र त्यति सफल नहोला ।
धार्मिक स्वतन्त्रताको अनुभूतिमा सबैको ध्यान केन्द्रित रहने प्रवृतिको
विकास होला ।
व्यापारिक गतिबिधि उच्च बिन्दुमा पुगे पनि ठूलो प्रतिफल भने हासिल हुन
नसक्ला । कृषि कार्य, पशु पंक्षीपालन र जलचर प्राणीको कारोवारले जीवन
यापनमा सहजता ल्याउला । जग्गाजमिन सम्बन्धिको कारोवारले आर्थिक सन्तुलन
सुदृढ गराउला । धान, गहुँ, मकै, जौ आदि खाद्यान्नको उचित उत्पादन भएपनि
बजार खुम्चिनाले मूल्य अनियन्त्रित बन्ने संकेत देखिन्छ । सुन चाँदी आदि
धातु र हिरा, मोती, पन्ना, मणि माणिक्यादिको भाउमा पनि बढोत्तरी नै होला ।
तापक्रममा प्रतिकूलताले सबैतिर अशान्ति छाउला । बाढी पहिरोको समस्या
नआउला भन्न सकिंदैन । भूक्षय, भूस्खलन, भूकम्प आदि दैवीय विपत्ति, स्थल तथा
हवाई दुर्घटनाको संभावनालाई पनि नकार्न सकिंदैन ।
ज्ञान विज्ञानको क्षेत्र विस्तार भएपनि विद्यार्थी वर्ग नीति र नियममा
बाँधिनसक्ने क्षमता घट्ला । कर्मचारी वर्गमा सम्मानका अभिलाषा जाग्ला । कला
र साहित्यले समाजमा दर्पणको प्रयत्न गरेपनि त्यस क्षेत्रकाहरुको प्रगतिमा
वाधा पर्ला । पत्रकारको सुरक्षामा खासै ध्यान नपुगेपनि आफ्नो पेशालाई
मर्यादित बनाउने प्रयत्न गर्लान् । श्रमिक वर्गको सुख सुविधामा सम्बन्धित
निकायबाट सद्भाव नपाउँदा खिन्नता छाउला । व्यापारी वर्गको उन्नतिमा व्यवधान
नआउला भन्न सकिंदैन ।



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्