खबर,
समाचार
»
शुक्रबारदेखि दैनिक १० घण्टा बत्ति नआउने, ५३० भन्दा धेरै ट्रान्सफर्मर जलिसके
शुक्रबारदेखि दैनिक १० घण्टा बत्ति नआउने, ५३० भन्दा धेरै ट्रान्सफर्मर जलिसके

पुस २, नदीमा पानीको प्रवाह घटेका कारण विद्युत् उत्पादनमा कमी आएका कारण नेपाल विद्युत् प्राधिकरणले विद्युत्भार कटौतीको समय बढाएको छ । प्राधिकरणले शुक्रबारदेखि लागू हुने गरी सातामा ७० घन्टाको दरले विद्युत्भार कटौती गर्न लागेको हो । नेपालमा हाल ४३ जलविद्युत् आयोजनाबाट ७१८ मेगावाट उत्पादन हुँदै आए पनि सबै आयोजना नदी प्रवाहमा आधारित भएका कारण विद्युत् उत्पादन ५० प्रतिशतभन्दा बढीले घटेको छ । प्राधिकरणका आयोजनामध्ये कुलेखानी पहिलो र दोस्रो आयोजनाको कुल क्षमता ९२ मेगावाट भए पनि त्यसबाट विद्युत् उत्पादन गरिएको छैन । निजी क्षेत्रले उत्पादन गरिरहेकामध्ये १०० मेगावाटभन्दा बढी विद्युत् भूकम्पका कारण राष्ट्रिय प्रसारण लाइनबाट विच्छेद भएको छ ।< प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा हाल ३०० मेगावाट मात्रै प्रवाह भइरहेको छ । भारतबाट हाल विभिन्न स्थानमा २३० मेगावाट विद्युत् आयात भइरहेको छ । नेपालभित्र उत्पादित र भारतबाट आयात गरिएको विद्युत् गरी कुल ५२० मेगावाटमात्रै प्रवाह भइरहेको छ । भारतको अघोषित नाकाबन्दीपछि खाना पकाउने समयमा विद्युत्को अत्यधिक माग बढेपछि विद्युत्को माग एक हजार ८०० मेगावाट पुगेको छ । प्राधिकरणका भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीका अनुसार नदीमा पानीको सतह घटेको र माग अनुसार विद्युत् आपूर्ति गर्न नसक्दा विद्युत्भार कटौती थप गरिएको हो । नयाँ तालिका अनुसार अब दैनिक १० घन्टा विद्युत्भार कटौती हुनेछ । यसअघि प्राधिकरणले साढे आठ घन्टा आधिकारिक रुपमा विद्युत् कटौती गर्दै आएको भए पनि ट्रान्सफर्मर र कन्डक्टर जल्दा राजधानीलगायत मुलुकका विभिन्न स्थानमा असीमित कटौती हुँदै आएको छ । विद्युत्को माग बढी हुँदा प्राधिकरणको प्रसारण प्रणालीमा नै समस्या थपिएको थियो । राजधानीभित्र र बाहिर गरी हालसम्म ५३० भन्दा बढी ट्रान्सफर्मर जलिसकेको छ । नागरिकले खाना पकाउने समयमा विद्युत् उपलब्धता होस् भनेर बिहान बेलुकाको समयमा भने विद्युत्भार कटौतीको तालिका भने मिलाइएको छ । प्रमुख खत्रीका अनुसार एक दिन बिहान र साँझमा भने खाना पकाउने समयमा विद्युत् उपलब्ध हुने छैन, अन्य दिनमा भने सकेसम्म उपलब्ध गराउने प्रयास गरिएको छ । ट्रान्सफर्मरमा अत्यधिक समस्या देखिँदा प्राधिकरणको ट्रान्सफर्मर मर्मत केन्द्र लैनचौरमा मर्मतसम्भार गर्न भ्याइनभ्याइ भएको छ । मर्मतसम्भार केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीका अनुसार मर्मतका लागि ल्याइएका ट्रान्सफर्मर मर्मत गर्न जनशक्तिको समेत अभाव हुँदा तोकिएकै समयमा फिर्ता गर्न समेत सकिएको छैन । उहाँले दैनिक एक दर्जनभन्दा बढी ट्रान्सफर्मर मर्मतका लागि आउने गरेको बताउनुभयो । प्राधिकरणका अनुसार कतिपय स्थानमा ट्रान्सफर्मर बढी क्षमताको राख्दा कन्डक्टर र प्रसारण लाइनमा बढी भार पर्दा समस्या थपिएको छ । सामान्यतया १५ केभिएदेखि २०० केभिएसम्मको ट्रान्सफर्मर प्रयोगमा रहेको छ । बढी भार परेर जलेका ट्रान्सफर्मर, कन्डक्टर तथा फ्युज मर्मतको प्रयास जारी रहेको र राजधानीका सबै वितरण केन्द्रले मर्मत तथा क्षमता अभिवृद्धि गरिरहेका कारण केही दिनमा नै समस्या समाधान हुने र तोकिएको समयमा विद्युत् उपलब्ध गराउन कुनै समस्या नहुने प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेको भनाइ छ । प्राधिकरणसँग मौज्दात रहेको ट्रान्सफर्मर तथा कन्डक्टर प्रयोग गरेर भए पनि विद्युत् उपलब्ध गराउने प्रयासमा लागिरहेको उहाँले बताउनुभयो ।
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्