नाकाबन्दीपछि आयल निगमले कति तेल भित्र्यायो ?

२७ मंसिर, काठमाडौं । नाकाबन्दीपछि इन्धनको हाहाकार भएका बेला नेपाल आयल निगमकै अधिकारीहरु तेलको कालोबजारीको आरोपमा मुछिए । कालोबजारीपछि केही डिपो प्रमुखहरु काठमाडौं तानिए ।
तेल वितरण अपारदर्शी भएको निश्कर्ष निकाल्दै वितरणको तालिका बनाउने अधिकार अहिले वाणिज्य मन्त्रालय आफैंले खिचेको छ ।
Nepal Oil Corporation (NOC)
तेल वितरण सहज र पारदर्शी किन भएन भन्ने प्रश्नमा निगमका सबै अधिकारीहरुको जवाफ हुन्छ- ‘यति थोरै मात्रामा आएको तेललाई व्यवस्थापन कसरी गरियो भनेर सोध्नुस् न बरु ।’
नाकाबन्दीपछि कति भित्रियो तेल ?

असोज ६ गतेदेखि नेपालमा नाकाबन्दी सुरु भयो । नाकाबन्दीपछि (मंसिर २३ गतेसम्म) नेपालमा सात करोड ४७ लाख ४४ हजार लिटर डिजेल र पेट्रोल भित्रियो ।
नाकाबन्दीपछि नेपालमा आउने तेलको परिमाण निकै घटेको छ । तापनि आयात अनुसार वितरण पारदर्शी नभएको गुनासो सर्वत्र छ ।
निजी सवारीलाई तेल नदिएको अवस्थनमा सार्वजनिक सवारीले पनि सहज रुपमा तेल हाल्न पाएका छैनन् ।
फेरि सरकारी सवारीलाई तेल पाउन खासै गाह्रो छैन । यसबीचमा नै तेल वितरणको प्रमुख जिम्मेवारी लिएकाहरु नै कालोबजारीमा मुछिएपछि आशंकाहरु जन्मिएका छन् ।
नाकाबन्दीको यो अवधिमा झण्डै १ करोड ८३ लाख ७९ हजार लिटर पेट्रोल आयो भने ५ करोड ६३ लाख ६५ हजार लिटर डिजेल आएको आयल निगमको तथ्याङ्कले देखाएको छ । यो अवधिमा मट्टीतेल ९ लाख २० हजार लिटर भित्रियो ।
असोज महिनाको रेकर्ड हेर्ने हो भने नेपालमा झण्डै २ करोड ६४ लाख लिटर तेल भित्रियो । जसमा पेट्रोल ७६ लाख ७८ हजार लिटर थियो भने डिजेल करोड ८७ लाख ७० हजार लिटर डिजेल नेपाल भित्रिएको थियो । असोजमा ३ लाख लिटर मट्टीतेल पनि नेपाल आएको थियो ।
कात्तिक महिनमा २ करोड ६४ लाख ७५ हजार लिटर डिजेल/पेट्रोल नेपाल आयो । पेट्रोल ६१ लाख १३ हजार लिटर मात्र भित्रियो भने डिजेलको परिमाण २ करोड ३ लाख ६२ हजार लिटर थियो । कात्तिक महिनामा मट्टीतेल ३ लाख ६८ हजार लिटर मट्टीतेल नेपाल आएको तथ्याङ्कले देखाउँछ ।
नाकाबन्दीपछिको तेल आयातको सूची
 तेलको प्रकार असोज कात्तिक मंसिर (२३ गतेसम्म) जम्मा (लिटर)
डिजेल (लिटर) १,८७,७०,००० २,०३,६२,००० १,७२,३३,००० ५,६३,६०,०००
पेट्रोल (लिटर) ७६,७८,००० ६१,१३,००० ४५,८८,००० १,८३,७९,०००
मटितेल (लिटर) ३००,००० ३६८,००० २५२,००० ९,२०,०००
स्रोतः आयल निगम

मंसिरको २३ गतेसम्म भारतबाट २ करोड १८ लाख २१ हजार लिटर डिजेल/पेट्रोल आइसकेको देखिएको छ । जसमा १ करोड ७२ लाख ३३ हजार लिटर डिजेल र ४५ लाख ८८ हजार लिटर पेट्रोल छ । मंसिर महिनामा २ लाख ५२ हजार लिटर मटितेल भित्रिसकेको छ ।
निगमको व्यवस्थापन लथालिङ्ग
गत मंसिर ३ गते ना ४ ख ७१४५ नम्बरको ट्यांकरमा नेपाल आयल निगमको भलबारी डिपोबाट कार्यकारी निर्देशक गोपालबहादुर खड्काको तोक आदेशमा स्वयम्भूको हामा आयल नाममा १२ हजार लिटर तेल चलान भयो । तर, त्यो तेल कालोबजारीको प्रयोजनको भएको खुलेपछि नवलपरासीमा प्रहरीले त्यसलाई नियन्त्रणमा लियो ।
नाकाबन्दीपछि भलवारी डिपोले बन्द रहेको एक सिमेन्ट उद्योगको नाममा पनि तेल वितरण गरेको खुलिसकेको छ ।
यस्तै विभिन्न घटनामा संलग्न रहेको भेटिएपछि आयल निगमका कार्यकारी निर्देशक खड्का सञ्चालक समितिबाट कारवहीका लागि सिफारिस भएका छन् ।
क्षेत्रीय डिपोले विभिन्न पम्पका नाममा त्यसैगरी तेल बेचेर कालोबजारी गरेको पाइएपछि निगमका ३ जना डिपो प्रमुख काठमाडौं तानिएका छन् ।
नाकाबन्दीका समयमा निगमका उच्च अधिकारी कालोबजारीमा लागेका यस्तै किसिमका धेरै घटनाहरु सार्वजनिक भए ।
आयल निगमले पर्याप्त तेल स्टक नभएको भन्दै तेल वितरणमा निकै अंकुश लगाएका बेला संस्थागतरुपमा कालोजारी भएको भन्दै आलोचना अहिले पनि भइरहेको छ ।
नाकाबन्दीपछि निजी सवारीले तेल नपाएको झडै ३ महिना बित्यो भने सार्वजनिक सवारीले पनि सहजरुपमा तेल पाएका छैनन् । तुलनात्मक रुपमा सरकारी सवारीलाई हाइसञ्चो छ ।
झन पहुँचवाला र मोटो रकम खर्चिनेहरुले आयल निगमबाटै तेल पाएको कुरा लुकेको छैन ।

,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्