रेडबुलमा ‘अखाद्य वस्तु’ फेला
‘इनर्जी ड्रिङ्सले फाइदा गर्दैन’

धरानको एक पसलमा अन्तर्राष्ट्रिय ब्राण्डको इनर्जी ड्रिन्क्स रेडबुलको क्यानमा किराजस्तो देखिने अखाद्य वस्तु फेला परेको छ।
धरान–१५ स्थित सावित्री खाजा घर नामक पसलबाट किनेर खाने क्रममा शनिबार उपभोक्ता पदम खेवाहाङ्गले किराजस्तो देखिने वस्तु फेला पारेका थिए। फ्रिजबाट निकालेकाले चिसो भएकाले गिलासमा खन्याउँदा अखाद्य वस्तु देखिएको उनले बताए। ‘गिलासमा खन्याएर खाउँ भन्दा त चोक्टाजस्तो पनि झर्छ। यसो हेरेको त किरा र बदामजस्तो देखिने वस्तु भेटियो,’ उनले भने।
रेडबुल थाइल्याण्डबाट उत्पादन हुने गर्छ भने नेपालको लागि रेडबुलको आधिकारिक बिक्रेता जिबी मार्केटिङ प्रा.लि. काठमाडौं हो। रेडबुलको क्यानमा जिबी मार्केटिङको नाम उल्लेख भए पनि गुनासो गर्ने र सम्पर्क गर्नको लागि कुनै पनि आधिकारिक नम्बर उल्लेख गरिएको छैन।
बरु थाइल्याण्डको टिसी फर्मासिट्युकल इण्डष्ट्रिज को. लिमिटेडको भने फोन नम्बर उल्लेख गरिएको छ। ‘नेपालको कुनै पनि नम्बर नै देखिँदैन, कस्लाई भन्ने? ल्याउनेलाई भन्यो भने केही उत्तर दिँदैनन्,’ सावित्री खाजा घरकी पसले सावित्रा राईले भनिन्।
नेपालमा आउने इनर्जी ड्रिन्क्सको बारेमा दुई वर्षअघि काठमाडौंको एक संस्थाले अनुसन्धान गरेको थियो। जसमा २५ देखि ४५ प्रतिशत चिनीको मात्रा पाइएको थियो भने सुगन्ध आउनको लागि भिटामिन बी को केही अंश हालिएको र कतिपय इनर्जी ड्रिन्क्समा क्याफिन हालिएको पाइएको थियो। क्याफिन स्वास्थ्यको हिसाबले फाइदाजनक नभएको उपभोक्ता हित संरक्षण मञ्चका महासचिव बाबुराम हुमागाईंले बताए।
‘समग्रमा नेपालमा आउने इनर्जी ड्रिन्क्सको कुरा गर्ने हो भने कुनै पनि फाइदाजनक छैन। बरु नोक्सान गर्छ,’ उनले भने, ‘खासमा यस्ता नामका इनर्जी ड्रिन्क्स भनेको चिनीपानी मात्रै हो।’
खाद्य प्रविधिका क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाले नमूना संकलन गरेर परीक्षणपश्चात मात्रै के समस्या हो त्यसबारेमा भन्न सकिने बताए। उनले सम्बन्धित जिल्लाका खाद्य निरीक्षकलाई यस बारेमा नमुना संकलन गर्नको लागि निर्देशन दिने बताए।



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्