सहमति नबन्दै सरकारको नेतृत्व लिन किचलो गर्दा नैतिक दबाब बढ्ने डर
माओवादी अध्यक्ष प्रचण्डलाई छ, बहुमतीय सरकारको नेतृत्व गर्दा
‘प्रधानमन्त्री बन्ने खेलमा लागेको’ आरोप खेप्नुपर्ने चिन्ता छ । नयाँ
पत्रिका दैनिकले समाचार छापेको छ ।
एक महिनाअघि कांग्रेसले सरकारको नेतृत्वका लागि माओवादीलाई साथ दिने
घोषणा गरेको थियो । तर, अन्तिम अवस्थामा माओवादीले धोका दिएको निष्कर्षमा
कांग्रेस छ । अहिलेको पोजिसनमा कांग्रेस सके सरकारको नेतृत्व आफैँ गर्ने,
नसके प्रतिपक्षमै बस्ने रणनीतिमा देखिन्छ ।
प्रधानमन्त्री केपी ओलीले ०७४ मंसिरमा संसदीय चुनाव गराएर मात्र आफूले
सरकार छाड्ने बताउँदै आएका छन् । प्रतिपक्षी कांग्रेस र सत्तासाझेदार
माओवादीबीच अविश्वास बढेको अवस्थामा आफू बलियो भएको उनको बुझाइ छ । माओवादी
नेतृत्वमा राष्ट्रिय सहमति नबन्ने र तीनबुँदे भद्र सहमतिमा आफ्नो पार्टीको
तर्फबाट हस्ताक्षर नै नभएकाले बाध्यकारी नहुने उनको बुझाइ छ ।
माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू तत्काल सरकार परिवर्तनको
पक्षमा छैनन् । सरकारमा पार्टीको नेतृत्व गरिरहेका उपप्रधानमन्त्री
टोपबहादुर रायमाझीले २२ जेठमा आयोजित एक कार्यक्रममा राष्ट्रिय सहमति कायम
नभएसम्मै ओली नेतृत्वकै सरकार रहने बताइसकेका छन् । बहुमतीय सरकारको
नेतृत्वबारे माओवादी आफैँ अलमलमा छ ।
प्रधानमन्त्री ओली र प्रचण्डबीच भएको भद्र सहमतिको विषयमा सुरुमा
एमालेभित्रै विवाद देखिएको थियो । तर, पछिल्लो समय बसेको स्थायी समिति
बैठकले सकभर आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बनाउने र नभए अरू दलकै
नेतृत्वमा पनि सहमति जुटाउने गर्ने निर्णय गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवानिकटका नेता डा. प्रकाशशरण महतका अनुसार
पहिले माओवादीले नै भनेर सरकार फेर्ने कसरत गरे पनि अब त्यस्तो हुनेछैन ।
एकपटक धोका खाइसकेकाले ओली सरकारले बहुमत नगुमाउँदासम्म वचनकै भरमा सरकार
फेर्ने कसरतमा नलाग्न देउवामाथि दबाब छ । ‘पहिले प्रचण्डजीले म असन्तुष्ट
छु, सरकारबाट निस्कन चाहन्छु भनेकाले कांग्रेसले उहाँलाई सहमति दिएको हो ।
तर, प्रचण्डजी त्यसमा अडिनुभएन,’ महतले भने, ‘अहिले सत्तामै भएका दलहरू
हामी असन्तुष्ट छौँ भनिरहनुभएको छ । त्यसो हो भने उहाँहरू सरकारबाट
बाहिरिनुपर्यो । अनि मात्र नयाँ समीकरणको कुरा हुन्छ ।’
अर्काे समीकरण बनाउन लाग्दैनौँ
– ईश्वर पोखरेल, महासचिव, एमाले
दुई दलबीच नौबुँदेबाहेक अरू कुनै सहमति भएकै छैन । राष्ट्रिय सहमति कायम
हुने हो भने जोसुकै पनि नेतृत्वमा आउन सक्छ । घरीघरी यो विषय लुतो
कन्याएजसरी मान्छेहरूले किन उठाइरहेका छन् ? मैले बुझेको छैन । यो समीकरण
भत्काएर अर्काे समीकरण बनाउने होइन होला ।
‘भद्र सहमति भद्र तरिकाबाटै लागू हुन्छ’
कृष्णबहादुर महरा, नेता, माओवादी केन्द्र
भद्र सहमति भनेको हल्ला नगरेर भद्र ढंगले नै लागू गर्ने विषय हो ।
राष्ट्रिय समस्याको हल राष्ट्रिय सहमतिको सरकारबाटै हुन्छ । यो विषयमा
उहाँहरू (प्रधानमन्त्री र प्रचण्ड) छलफलमा हुनुहुन्छ । राष्ट्रिय सहमतिको
वा बहुमतको सरकार, अहिले केही भन्न सकिन्न । मधेसी मोर्चा के गर्छ ? ओली
सरकार फेरबदलमा संयुक्त मधेसी मोर्चाले आफूले सकेको सहयोग रहने सार्वजनिक
गरिसकेको छ । सरकार ढाल्न उसले अनौपचारिक छलफल पनि गर्दै छ । तर, उसले
सोचेजस्तो सजिलो पनि छैन् । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण
भन्छन्, ‘यो सरकार परिवर्तन होस् भन्ने मोर्चाको धारणा छ ।’ प्रधानमन्त्री
ओली मधेसको मुद्दाप्रति असहिष्णु भएको आरोप मोर्चाको छ । ‘ओली सरकार मधेसको
मागको खिलाफमा छ, त्यसकारण उनको सरकार ढाल्न मोर्चाले सहयोग गर्छ,’
सद्भावना महामन्त्री मनीष सुमनले नयाँ पत्रिकासँग भने । मोर्चाको बुधबार
बस्ने बैठकमा सरकार परिवर्तनको विषयमा छलफल हुनसक्ने एक नेताले बताए ।
अब यसरी लम्बियो ओली सरकारको आयु



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्