घर ज्वाँई बस्ने हो?

झ्याप्प बत्ती गयो। रातको यस्तै साढे सात बजेको हुँदो हो। हामी जाउलाखेल चोकको एक कुनामा उभिइ उभिइ पानीपुरी खादै थियौ। बुढी आैलाले पुरीको डल्लोलाइ क्याच्च पारेर पानी र आलुको दम खाद्न भैयालाइ भ्याइ नभ्याइ थियो। बत्ती गएपछि भैयाले क्यान्डल बाल्यो।
रातको चिसो बढ्दै थियो। बिहान डेराबाट निस्केको म अर्थात रमेश रिजाल, पातलै भए नि ज्याकेटमै थिएँ। दिउँसो घरबाट निस्केकी उ अर्थात संगीता लिम्बु, पातलो हाफ टिसर्टमा थिइ।
‘अब त साच्चै जानु पर्छ’, भने मैले र थपे, ‘भोली बिहान छ बजे क्लास पुग्नु पर्छ।’ ‘हृाँ खाली क्लास क्लास, त्यो बाहेक तपाइसंग जिउने अर्का संसार छैन र?’ ‘तिमी छौ नि’, म बाट कसरी फुत्किए यि शब्द, भनिसकेर आफैलाइ लाज लाग्यो। ‘इ हुइ नी बात’ उ बेपर्वाह ठुलो हाँसो हाँसी। उ थिइ नै यस्तै। मनमौजी भन्छन नि, हो त्यस्तै। म चै दैनिक रुटिङमा पिल्सिएको मास्टर। फरक फरक अनुहारका विधार्थीको बैंश हेरेर मन अघाएको भ्रम पार्ने। संगीतासंगको भेटपछि यो भ्रम तोडिएको थियो।
‘रुटिङ मात्र होइन के जिन्दगी। कहिलेकाही त फुक्का हुनुपर्छ। उड्नु पर्छ भुरुरु, यो धुवाँ जस्तै।’ कतिखेर उस्ले चुरोट सल्काउन पनि भ्याइसकेकी रहिछ। सुरुसुरुमा जस्तो सर म चुरोट खाउँ है भन्न छोडेकी छे अचेल। पानीपुरी भैया गएपछि हामी सडकपेटीमा बसेका थियौ। लिम्बु बाउ र गुरुङ्ग आमाकी एक्ली छोरी संगीता खासै चिम्सि लाग्दिनथी। राम्री गोरी थिइ हेर्दा। उस्की हजुरआमा बाहुनी रे। मलाइ बाहुन मन पर्छ, म छेउमा हुदा उ भन्थी।
रातको आठ बजिसकेको थियो। सडकमा फाट्टफुट्ट ट्याक्सि र मोटरसाइकल मात्र थिए। ‘ल हिडे म, जाउ तिमी पनि’, भनेर म उठ्न के खोजेको थिएँ, हात तानेर बसाइ र चुरोटको अन्तिम सर्को तान्दै भनि, ‘एक छिन बसौ न, आज त डान्सबार जानु पर्छ।’ म तर्सेर उठ्दै भने, ‘भो प्रभु तिमी मात्र जाउ, म चै हिडे।’ म ट्याक्सि खोज्दै थिएँ, मेरो नजिकै स्कुटी ल्याएर भनि, ‘ ओ भाइसाब पिछे बैठो।’ ‘जाउ तिमी, म ट्याक्सिमा जान्छु’, म अर्कोतिर बटारिए। ‘के भाउ खाइराहोला, जाडो भो, छिटो बस्नु, कोठासम्म छोडिदिन्छु। ढिलो घर पुग्यो भने हजुरआमा रिसाउनु हुन्छ।’ जाडोले उ हात माड्दै थिइ। मलाइ ढिलो गर्नु थिएन। बसे उसको पछाडी, च्याप्प भने समातिन।
घट्टेकुलो मेरो डेरासम्म पुग्दा उ निकै कक्रिसकेकी थिइ, जाडोले। स्कुटीबाट उत्रेपछि आज पनि उस्ले लामै किस गरी। अक्सर छुट्टिने बेलामा बत्ति भएन भने उ मलाइ यसो गर्छे। ‘जाउ अब, हजुरआमा रिसाउनु होला’, यतै बस भन्ने औपचारिकता निभाउन छोडेको छु अचेल। ‘खै ज्याकेट दिनु’, मागी उसले। दिएँ र लगाउँदै भनि, ‘बाहुन ज्वाँइले बर्वाद गर्यो भनिदिन्छु हजुरआमालाइ।’ र केही सम्झे झै थपी, ‘घर ज्वाँई बस्ने हो? दाइको परिवार अस्ट्रेलिया जादै छ,। बाउ प्राय पहाडमै बस्छन। घरमा एउटा मर्द चाहियो के। फेरि हजुरआमालाइ बाहुन मन पर्छ।’ ‘नसोचेको चिठ्ठा पर्यो कि क्या हो’ जिस्किदिएँ यतिकै। ‘चिठ्ठा होइन बम्पर हो बम्पर, सोच्नु’, भन्दै उ सातदोबाटो तिर हुइकिइ।
बिस मिनेटपछि म्यासेज आयो मोबाइलमा। घर आइपुगे, आज धेरै रमाइलो भो, अघि मैले भनेको कुरा राम्ररी सोच्नु। बाहिर भ्याकेन्सि आउट गर्यो भने हाइ कम्पिटिसन हुनसक्छ, अहिले त इन्र्टनल हो तपाइको लागी मात्र। गुड नाइट। मैले पनि गुड नाइट लेखे र सिरकमा गुट्मुटिएँ।
पढाउने क्रममा भेटिएकी हो संगीता। यस्ता संगीताहरु धेरै भेटिए जीवनमा। तर उ भने बिल्कुल फरक लागी। मास्र्टस पहिलो बर्षको विधार्थी हो उ। त्यो कलेजमा मेरो अध्यापनको दोस्रो हप्ता थियो। बेलुका आठ बजेतिर फोन गरेकी थिइ उसले। त्यो दिन मेरो पढाउने शैलीको ठुलै तारिफ गर्दै क्लासमा नबुझेको कुरा समय हुदा बुझाइदिन आग्रह पनि गरेकी थिइ।
एक हप्ता पछि अर्कै नम्बरबाट फोन गरेर भनेकी थिइ, ‘सर मेरो मोबइल हरायो, यो नयाँ नम्बर लिएको प्रिपेड। अब पोष्टपेड चलाउँदिन।’
एक दिन दिउँसो केही कुरा सोध्नु छ भनेर एकै छिन समय मागी। कफी सपको एउटा क्याबिनमा थियौ हामी। ‘सर लिने’, ब्यागबाट चुरोट निकालेर म तिर बढाउँदा म झसंग भएको थिएँ। ‘म कहिल्यै चुरोट पिउँदिन’, आफुलाइ नर्मल पारेर भनेको थिएँ। ‘म लिउँ है’, सल्काएर तान्न थालेकी थिइ, निशंकोच। पातला दुई औलाको बिचमा अड्काएर चुरोट तानिरहदा उ मलाइ शिरिषको फूलकी सकम्बरी झै लागेको थियो।
‘सर कतिको फिल्म हेर्नुहुन्छ?’ सोधेकी थिइ एक साँझ। ‘समय नै हुत्र, धेरै भो नहेरेको’, भनेको थिएँ। ‘भोली जौ, जय नेपालमा नक्ड अप भन्ने रोमान्टिक फिल्म लागेको छ, बेलुकाको सबै क्लास क्यान्सल गर्नु। म टिकट लिइराख्छु, उतै आउनु।’ मैले केही भन्न नपाउँदै उसले फोन काटिसकेकी थिइ।
क्लास क्यान्सल गर्ने मन नहुदा नहुदै पनि संगीतासंगको बढ्दो निकटताले होला फिल्म हल सम्म तानिएको थिएँ त्यो दिन। फिल्म पनि गज्जबकै थियो। डान्स बारमा भेटिएकी नायिकालाइ नायकले बियर किनिदिएर कसरी इम्पे्रस्ड गर्छ र त्यो रात नशामा मात्तिएर नायिकाकै घरमा रात बिताउँछ, कै सेरोफेरोमा बगेको फिल्म उत्तेजक दृष्यले भरिभराउ थियो। फिल्म हेरिरहदा अंगालो हालाहाल सम्म भएको थियो हामी बिच। त्यो साँझ मलाइ कोठासम्म छाडेपछि उसले पहिलोचोटि किस गरेकी थिइ, त्यै अंग्रजी फिल्मको शैलीमा।
मार्कर, सेतोपाटी र गणितका सुत्रमात्र देख्ने मेरो दिमागभित्र संगीताको बाफिलो प्रेम छिरेपछि लाग्यो अहिले भोग्नु पर्ने जिन्दगी त अर्कै पो रहेछ। बिहान छ बजेबाट राती सात बजेसम्म मार्कर र सेतोपाटीको रगडाइमा चेपिएको मेरो समय, अब भने काठमाडौका पार्कहरु, रेष्टुरेन्टका डिमलाइट क्याबिनहरु तथा डान्सबारसम्म फैलिन थालेको थियो।
‘यो भाई कति एग्रेसिभ छ भने उसले भनेको कुरा भएन भने बौलाउँछ।’ जमलको रुफटप रेष्टुरेन्टमा बियर पिउँदै गर्दा भनेकी थिइ उसले। ‘तिम्रो पनि भाई छ र?’ मैले सोधे। ‘अँ छ एउटा नेवार, टेलिभिजनमा काम गर्छ। त्योसंग नयाँ नम्बर छैन। हिजो घर पुग्दा गेटमै कुरेर बसेको रैछ। फाइट पर्यो । धन्न दाइ आएपछि भाग्यो।’ ‘तिम्रो प्रेमी?’ मैले सोधे। ‘के को प्रेम? के को प्रेमी? थाहा छ बिहे अघिको प्रेम यो बियरको फिँज जस्तै हो, देखावटी। मुख्य कुरा त शारीरिक आकर्षण हो, जवानी भन्छन नि, हो त्यही।’ बोलीरहदा उसको अनुहारमा अलिक आक्रोस अनि निराशा थियो। ‘तिम्रा अरु पनि प्रेमी थिए कि?’ मेरो प्रश्न नझर्दै थर्काइ उस्ले। ‘फेरि प्रेमी?’ म हाँसेको थिएँ त्यतिबेला।
 ‘पाटनको कञ्जुस साहुको छोरो, रेष्टुरेन्टमा उसले ख्वाएको पनि हिसाब खातामा लेख्थ्यो।’ भनेकी थिइ, लामै प्रेमको लामै लिष्ट हुनसक्थ्यो उ संग, बाँकी सोध्न मन लागेन।
नयाँ बर्ष पनि मै संग मनाई उसले ठमेलमा। ‘तपाइ साच्चिकै कुल हुनुहुन्छ। छुट्टै आनन्द आउँछ तपाइसगं बिताउँदा। थाहा छ, चाडै तात्तिने र सन्कने मान्छेहरु स्वार्थी र क्षणिक प्रेम गर्ने हुन्छन।’ त्यो दिन म संग नजिक हुनुको रहस्य खोलेकी थिइ उस्ले।
वास्तवमा म उस्लाई प्रेम गर्दिनथे भनौ प्रेम गर्नु पर्ने कारण केही पनि थिएन। उ चुरोट तान्थि, दारु पिउँथी अनि लुगा फेरे झै केटा फेर्थी। तर पनि मलाइ विस्तारै उस्को लत बस्न थालेको थियो। मैले उसलाइ मन पराउने एउटै कारण उमेर अनुसारको जीवन बाँच्न सिकाएकी थिइ।
घर ज्वाँइको प्रस्ताव गरेपछिका दिनहरुमा उ अलिक कम भेट हुनथाली। मलाइ पनि भेटौ न भनेर कर गर्ने समय थिएन। फोन भने दिनहुँ गर्थी। एक साँझ फोनमा भनि, ‘म बिहे गर्दैछु नि, छिट्टै’। ‘घर ज्वाँइ बस्ने मान्छे भेट्यौ कि क्या हो’, नपत्याए झै भने मैले। ‘घर ज्वाँइ जस्तै हो, हाम्रो पहाडको घर ताप्लेजुङमा बस्ने , बाउको साथीको छोरा, कञ्चनजंघा संरक्षण क्षेत्रको एउटा प्रोजेक्टमा काम गर्छ रे। तपाइ जस्तै कुल रैछ।’ साच्चै हो भनेर विश्वास दिलाउन खोजी।
‘तिमी अनि ताप्लेजुङ?’ आश्चर्य माने मैले। ‘काठमाण्डौ पुग्यो अब, एउटै कुरा भोगीरहृो भने जीवन त्यति रसिलो बन्दैन के। स्वाद हराउँदै जान्छ बाँच्नुको। नयाँ रङ्गहरु भर्दै गर्नु पर्छ बेलाबेला। फेरि औपचारिक रुपमै बिहेको अनुभव पनि समयमै लिनु पर्यो।’ भनि उसले र शुक्रबार अन्तिम भेट गर्ने निम्ता दिइ।
शुक्रबार साँझ सातबजे हामी लगनखेलको एउटा रुफटप रेष्टुरेन्टमा थियौ। ‘ताप्लेजुङ जाने नै भयौ हैन’, मलाइ अझै विश्वास लागेको थिएन, सोधिहाले। ‘वाउ, आएम सो एक्साइटेड, थाहा छ, मेरो मम्मिलाइ मन पर्दैन त्यो पहाड, हजुरआमा र बाउलाइ मन पर्दैन काठमाण्डौ, बाउ त ब्रिटिस आर्मिबाट रिटायर्ड भएदेखी उतै जंगलमा रिसोर्ट चलाएर बसेका छन। धेरै पटक गएको छु म त्याँ, असाध्यै मन पर्छ, कति खुल्ला र फराकिलो छ त्यो संसार’, बोलीरहदा उसको अनुहारमा छुट्टै चमक थियो।
अहिले चै मलाइ उ साच्चै जान्छे नै जस्तो लाग्यो। ‘अँ साच्चि मैले चुरोट छोडे नि’, सजिलै भनि उसले। म यहि चाहान्थे। खुशीले उसलाइ अंगालो हाल्न मन लाग्यो। ‘उहालाइ पनि चुरोट मन पर्दैन। फेरि उहालाइ मन नपर्ने कुराहरु जुन मेरै हितमा पनि ठिक छैनन्। त्याग्दैमा के फरक पर्छ र। बानी जस्तो लगायो त्यस्तै हुने त हो नि’। मन चिसो बनाइ।
झण्डै नौ बजेसम्म थियो। तल सडकमा आएर छुट्टिने बेलामा गभिंर हुदै भनि
‘मैले नयाँ नम्बर लिएको छु। अब देखि पुरानो नम्बरमा घण्टि बज्दैन। म चाहान्छु, मेरो हुनेवाला बाहेक अरु कसैले मलाइ घण्टि नबजाओस ताकि म पुर्णरुपमा उहाको हुनसकुँ। म आफ्नो विगत बिर्सिएर नयाँ जीवन सुरु गर्न सकुँ। थाहा छ, तपाइलाइ पनि मैले त्यतिबेला नयाँ नम्बर दिएको थिएँ। वास्तवमा त्यतिबेला मेरो मोबाइल हराएको थिएन। अब नयाँ नम्वर उहाँसंग मात्र हुनेछ, जुन कहिल्यै पुरानो हुनेछैन।’
बत्ती गएको थियो। आज छुट्टिने बेलामा किस नगरिकनै अँध्यारोमा हुँइकिएर उ गइ। म उभिएकै ठाउँमा थचक्क बसे। म भित्रबाट केही चुँडिएर गए झै भयो। निकै बेरसम्म उ गएको बाटो हेरिरहे। डायल गरे उस्को नम्बरमा, घण्टि बजेन। अब उ नयाँ थिइ र म पुरानो।

, ,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्