भूकम्प पीडितलाई उठाएको ४६ लाख रूपैयाँ अमेरिकामा हिनामिना

बैंक खाताबाटै रकम हिनामिना गत वर्ष नेपालमा गएको भुकम्पबाट पीडित परिवारको राहतको लागि भनेर संकलित रकम अमेरिकामा अनियमितता भएपछि यतिखेर नेपाली जनसम्पर्क समितिभित्रै व्यापक विवाद सुरु भएको छ ।
झण्डै ४५ हजार ९ सय डलर (४६ लाख रुपैयाँ) बैंक खाताबाटै गायब बनाइएपछि नेपाली जनसम्पर्क समिति अमेरिकाभित्र ठूलो रँडाको सिर्जना भएको छ । समितिको बैंक अफ अमेरिकामा रहेको खाताबाट यो रकम गायब भएपछि विहीबार साँझ डाकिएको आपत्कालिन बैठकले छानबीनका लागि पाँच सदस्यिय कार्यदल गठन गरेको छ ।
जनसम्पर्क समिति नेपाली कांग्रेसका शुभेच्छुक र समर्थक प्रवासीहरुको संस्था हो ।
संकलित रकममध्य केहीमात्र नेपाल पठाएर बाँकी रकम समितिको खातामा राखिएको थियो ।
यो रकम एकाएक खाताबाट गायब भएपछि विहीबारको बैठकमा समितिका केन्द्रिय सदस्य अमृत भट्टराई (मिचिगन) को संयोजकत्वमा पाँच सदस्यिय कार्यदल गठन गरिएको छ । कार्यदलका सदस्यहरुमा शुभेन्द्र रानाभाट, वेदप्रसाद खरेल, लोक लामा र सुभाष लामा छन् । यो समितिलाई १० दिनभित्र सबै यथार्थता बुझेर प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको छ ।
विहीबारको बैठकमा समितिका सभापति गोरख (आनन्द) विष्टले आपूmलाई समेत जानकारी नदिई महासचिव मुनिन्द्र नेम्वाङ र कोषाध्यक्ष विजय थुलूङले खाताबाट ४५ हजार नौसय डलर गायव बनाएको बताएका थिए । ‘हामी हिजो बैंकमा स्टेटमेन्ट लिन गयौं, स्टेटमेन्ट प्रिन्टको क्रममा खाताबाट रकम गायब भएको थाहा पाएपछि म झण्डै वेहोस भएँ,’ बैठकमा अध्यक्ष विष्टको भनाई रहेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिएका छन् ।
बैठकमा वरिष्ठ उपाध्यक्ष धनञ्जयनरसिंह केसी, महासचिव मुनिन्द नेम्वाङ, कोषाध्यक्ष विजय थुलुङ लगायतका केही सदस्यहरु उपस्थित भएनन् । सभापति विष्टले बैंकको खाता, चेक लगायतको आर्थिक जिम्मा कोषाध्यक्षको जिम्मामा रहने भएकोले आफूले विश्वास गर्दा अहिले संस्थानै वदनामी भएको बताएका थिए ।
भूकम्प पीडितका लागि भनेर संकलित रकम समयमै नेपाल नपठाएर किन लामो समयसम्म खातामा राखियो ? यो विषयमा सदस्यहरुले प्रश्न गर्दा भने अध्यक्ष विष्ट निरुत्तर भएका थिए ।
प्राप्त बैंक स्टेटमेन्ट र चेकको प्रतिलिपी अनुसार गत वर्ष सहयोग संकलनको समयमा खातामा ५४ हजार ७ सय ६८ डलर जम्मा भएको थियो । तर जुन १६, २०१६ मा आइपुग्दा समितिको खातामा ९ हजार तीनसय ९७ डलरमात्र बाँकी छ । भूकम्प पीडितका लागि भनेर उठाइएको सबै रकम नेपाल पठाउने भनेपनि केही रकममात्र पठाएर ठूलो अंश समितिले अमेरिकामै राखेको थियो । यही रकम अहिले अपचलन भएको हो ।
अधिकांश चेकमा अध्यक्ष विष्ट र महासचिव नेम्वाङको हस्ताक्षर गरेर रकम निकालिएको छ । थोरैमात्र चेकमा कोषाध्यक्ष थुलुङले हस्ताक्षर गरेका छन् ।
बैठकमा ४५ हजार नौसय डलर कसरी निकालियो र अहिले कहाँ राखिएको छ भन्ने बारेमा निकैनै सोधिखोजी भएको थियो । तर अध्यक्ष विष्टले आफूले रकम ननिकालेको दावी गर्दै सबै रकम महासचिव र कोषाध्यक्षले निकालेर अपचलन गरेको विवरण सुनाएका थिए ।
प्राप्त विवरण अनुसार चेक नम्बर १००७ देखि १०२७ सम्म लगातार रकम निकालिएको छ । त्यस्तै अप्रिल ६ मा पाँचहजार र मे ९ मा तीनहजार डलर कोषाध्यक्ष विजय थुलुङले कुरा बैंकको स्टेटमेन्टबाट खुलेको छ ।
बैठकमा जनसम्पर्कका विभिन्न च्याप्टरहरुले संकलन गरेर पठाएको रकममध्य केही रकम र चेकहरु खातामा जम्मानै नगरि अपचलन गरेको हुनसक्ने शंका केही सदस्यहले गरेका थिए । ‘यो विषयमा समेत भुकम्प पीडितहरुलाई कुन कुन च्याप्टरले कति रकम संकलन गरेर केन्द्रलाई पठाएका थिए त्यसको विवरण पठाउन समेत अनुरोध गरिएको छ,’ एक सदस्यले बताए ।
छानबीन समितिले अध्यक्ष, महासचिव र कोषाध्यक्षदेखि लिएर कार्यसमितिका सदस्यहरु, च्याप्टर पदाधिकारीहरु समेतसँग छलफल गरेर प्रतिवेदन तयार गर्नेछ ।
अर्को समूहको अलग्गै बैठकः
यसैबीच बैठकमा अनुपस्थित रहेका उपाध्यक्ष धनञ्जयनरसिंह केसी समूहले विहीबार साँझै छुट्टै बैठक बसेर बिभिन्न निर्णयहरु गरेका छन् ।
प्राप्त जानकारी अनुसार यो समूहले गरेको निर्णयमा बार्षिक साधारण सभा आउँदो नोभेम्बर १२ र १३ तारिकमा न्यूयोर्कमा गर्ने उल्लेख छ । संस्थाको आर्थिक हिसाब किताब दुई दिनभित्र सार्वजनिक गर्न कोषाध्यक्षलाई जिम्मेवारी दिने निर्णय भएको छ ।

, ,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्