पोर्चुगल र फ्रान्स आज युरो कपको फाइनलमा भिड्दै
उपाधि दौडमा रहेका यी दुई टिम बीच पेरिसको सेन्ट डेनिस रंगशालामा नेपाली समय अनुसार आइतबार राति पौने एक बजे हुने खेललाई कतिपयले पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो र युरो कपमा अहिलेसम्म सर्वाधिक ६ गोल गरेका फ्रान्सका एन्टोनी ग्रिजम्यानको भीडन्तका रुपमा पनि हेरेका छन्।
ग्रिजम्यान यो प्रतियोगितामा उदाएका अहिलेसम्मकै सबैभन्दा ठूला स्टार हुन्। उनले अहिलेसम्म ६ गोल गरिसकेका छन्। नकआउट चरणमा उत्तरी आयरल्यान्ड, आइसल्यान्ड र जर्मनीलाई हराउँदा उनी सबै खेलमा गोल गर्न सफल रहे। २५ वर्षीय ग्रिजम्यान प्रतियोगिताकै उत्कृष्ट खेलाडी र गोल्डेन बुट अवार्डका सबैभन्दा राम्रा प्रत्यासी बनेका छन्।
उता ३१ वर्षिय रियल म्याड्रिडका स्टार रोनाल्डोसामू अहिले पोर्चुगलका लागि सबैभन्दा ठूलो उपाधि जित्ने अवसर छ। यो उनी कत्तिका निर्णायक खेलाडी हुन भनेर प्रमाणित गर्ने मौका पनि हो। रोनाल्डोकै सुरुआती हेड गोलबाट पोर्चुगलले वेल्सलाई सेमिफाइनलमा २–० ले हराउँदै उपाधि नजिक पुगेको हो। उनले यस्तो अवसर यसपछि विरलै पाउनेछन्।
अर्कोतर्फ यी दुबै टिमका लागि पनि आजको खेल इतिहास बनाउने एक मौका हो। आजको खेल जितेमा पोर्चुगलले पहिलोपल्ट युरो उपाधि उचाल्नेछ भने आजको खेल आफ्नो पक्षमा पार्न सके फ्रान्सले घरेलु मैदानमा उपाधिमाथि ह्याट्रिकको इतिहास रच्चे छ।
फ्रान्सले यसअघि घरेलु मैदानमा सन् १९८४ मा युरोपेली च्याम्पियनसिप र सन् १९९८ विश्वकपको उपाधि उचालिसकेको छ। विश्वविजेता जर्मनीमाथि सेमिफाइनलमा २-० को सनसनीपूर्ण नतिजा निकालेको फ्रान्स आज उच्च मनोबलका साथ मैदानमा उत्रेनछ।
फ्रान्सेली टिम उपाधिसँगै गत वर्षको आतंकवादी हमलामा क्षतविक्षत बनेको देशवासीको मनमा खुसीको लहर ल्याउने प्रयासमा छ।
प्रशिक्षक डिडियर डेसच्याम्पले भनेका छन्, ‘अहिले निकै राम्रो कथाको पटकथा तयार भइरहेको छ। हामीले भनिरहेका छैनौं, फ्रान्सेली जनताले सामना गरिरहेका सबैखाले समस्याको समाधान हामीसँग छ। तर हामीसँग त्यो शक्ति भने छ, जसले फ्रान्सेली जनतालाई खुसी तुल्याउनेछ। हाम्रो फुटबलले गर्दा उनीहरू भावनात्मक हुन सक्छन् र आफ्ना सबै समस्या बिर्सन चाहन्छन्।’
यता सन् २००४ मा घरेलु मैदानमै भएको युरोकपमा फाइनल पुगे पनि पोर्चुगल उपविजेतामै सिमित रह्यो। १२ वर्षपछि युरोकपको फाइनल पुग्ने क्रममा पोर्चुगलले सेमिफाइनलमा वेल्सलाई २–० ले हराएको थियो।
हेड टु हेड
यी दुईबीच अहिलेसम्म भएका भेटमा फ्रान्स सधैँ पोर्चुगलमाथि हावी भएको छ। फिफा वरियतामा १७ नम्बरमा रहेको फ्रान्सलाई आठ नम्बरमा रहेको पोर्चुगलले ४० वर्षयता हराउन सकेको छैन।
सन् १९७५ मा पोर्चुगलले फ्रान्सलाई २–० ले हराएपछि अहिलेसम्म हराउन नसकेको हो। रोनाल्डोले त झन अहिलेसम्म फ्रान्सविरुद्ध कुनै पनि स्तरमा जित चाखेका छैनन्। पोर्चुगलले सन् १९७५ यता फ्रान्सविरुद्ध दस खेलमा हार बेहोरेको छ।
यी दुई बीच सबैखाले गरेर अहिलेसम्म २४ खेल भएका छन् जसमा फ्रान्स १८ खेलमा विजयी भएको छ भने पोर्चुगलले ५ खेल मात्र जितेको छ। एक खेल भने बराबरीमै सकिएको थियो।
फ्रान्स र पोर्चुगल सन् २००६ को विश्वकप सेमिफाइनलमा अन्तिम पटक भिडेको थियो। जुन खेल फ्रान्सले आफ्नो पक्षमा पारेको थियो।
हेर्नलायक खेलाडीहरू
आजको खेलमा हेर्नलायक खेलाडीमा पोर्चुगिच कप्तान क्रिस्टियानो रोनाल्डो, पेपे, नानी तथा फ्रान्सका एन्टोनी ग्रिजम्यान, ओलिभर जिरार्ड, दिमित्री पायड हुन्।



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्