लोडसेडिङ तालिका हेर्नुहोस्, हप्तामा एक दिन भोकै बस्न तयार हुनुहोस् !
पुस ३ – खाना पकाउने ग्यासको अभावमा
हिजोआज शहरका धेरै घरमा विद्युत्तीय उपकरणमा खाना पाक्छ । लोडसेडिङ नभएको
बेला पनि बत्ति जाने समस्या झेल्दै आएका काठमाडौंका बासिन्दाले अहिलेसम्म
जसोतसो इन्डक्सन चुल्हो र हिटरमा खाना पकाउँदै आएका थिए । तर शुक्रबारदेखि
घोषित रुपमै लोडसेडिङ थपिएपछि इन्डक्सन र हिटरमा खाना पकाउन झन् समस्या
पर्ने भएको छ ।
प्राधिकरणले खाना पकाउने बिहान र बेलुकाको
समयमा सकभर लोडसेडिङ नगर्ने बताएको थियो । तर नयाँ तालिकामा एक दिन त खाना
पकाउने समय बिहान चारघण्टा र बेलुका पाँचघण्टा लोडसेडिङ हुने उल्लेख छ ।
अरु दिन पनि अपायक समयमा बत्ति आउने तालिका छ । 
सातवटै समूहमा हप्ताको एकदिन बिहान ६
बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ९ बजेसम्म लोडसेडिङ हुने
प्राधिकरणको तालिकामा छ । यो दिन भात खान बिहान कि ६ बजे अघि नै
पकाइसक्नुपर्छ कि १० बजेपछि थाल्नुपर्छ । अनि बेलुका कि ४ बजे अघि नै
पकाइसक्नुपर्छ कि राती ९ बजेपछि भान्सामा पस्नुपर्छ । पढ्ने र जागिर
खानेलाई मात्र होइन, घरमै बस्नेलाई पनि यो दुवै समय अपायक हुन्छ । त्यसैले
हप्ताको एक दिन कि दाउरामा भात पकाउनुपर्यो । नत्र भोकै बस्नुपर्ने हुन्छ ।
नयाँ तालिका अनुसार समूह १ का शहरिया
उपभोक्ताले सोमबार बिहान र बेलुका बिजुलीमा भात पकाउन पाउँदैनन् । यसैगरी
समूह २ मा मंगलबार, समूह ३ मा बुधबार, समूह ४ मा बिहीबार, समूह ५ मा
शुक्रबार, समूह ६ मा शनिबार र समूह ७ मा बिहान ६ बजेदेखि १० बजेसम्म र
बेलुकी ४ बजेदेखि ९ बजेसम्म बत्ति हुँदैन ।
अरु दिन पनि अपायक
काठमाडौं सहित शहरका धेरै घरमा प्रायः
बिहान ७ बजेदेखि ९/१० बजेसम्म भात पकाउने चलन छ । निजी स्कुल १० बजेअघि नै
खुल्ने र जागिरेहरु पनि समयमै कार्यालयमा पुग्नुपर्ने भएकाले बिहान ६
बजेदेखि ८ बजेसम्म धेरैको भान्सामा भात पकाउने सुरसार हुन्छ । घरमै बस्नेले
९÷१० बजेसम्म पकाइसक्छन् ।
तर इन्डक्सन र हिटरबाट भात पकाउनेहरुले
बिहानको यो समयमा आफुले चाहे अनुसार भान्साको काम गर्न पाउँदैनन् । हप्ताको
दुई दिन त बिहान ८ बजेपछि मात्र बिजुली आउँछ । अनि अरु दिन ८ बजेपछि
बिजुली गैहाल्छ । ८ बजे गएको बिजुली दिउँसो अबेर मात्र आउँछ ।
बेलुका पनि हिजोआज चाँडै रात पर्छ । चिसो
पनि बढ्दै गएकाले धेरैजना चाँडै भात पकाएर सुत्ने गर्छन । तर इन्डक्सन र
हिटरमा भात पकाउनेले प्रायः बेलुकी ८ बजे मात्र चुल्हो सल्काउन पाउँछन् ।
दुई÷तीन दिन मात्र ८ बजेअघि बिजुली हुन्छ ।
तालिका अनुसार बत्ति आउँदा पनि शहरका
धेरैलाई अब बिजुलीको उपकरणमा भात पकाएर खान मुश्किल हुने भएको छ । त्यसमाथि
धेरै भारका कारण लोडसेडिङ नहुने समयमा पनि बिजुली नआएर उपभोक्ता हैरान
भैरहेका छन् ।



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्