घरेलु हिंसाका कारण विदेशिए नेपाली चेली
उहाँको परिवारको आर्थिक अवस्था राम्रो थिएन । आर्थिक अवस्था त गतिलो थिएन नै श्रीमानसँगको सम्बन्ध पनि बिग्रियो । घर झगडा बढ्दै गएपछि अन्तरजातीय विवाह गर्नु भएकी लिम्बूले अन्ततः श्रीमान् नै छाड्नु पर्ने अवस्था आयो । मनिषाका माइती दलित हुन् । उहाँको विवाह लिम्बूसँग भयो । दलित भएका कारण घरमा भितर्र्याइएको थिएन । श्रीमानसँग पनि झगडा भएपछि मनिषा माइती नै फर्कनु भयो ।
तीनवर्ष माइती छाडेपछि माइती फिरेपनि माइतीमा पनि राम्रो भएन । यही अवस्थामा उहाँलाई भेट्न आइपुगे चिनेकै एक दलाल । विदेश गएपछि मालामाल होइन्छ भनेपछि मनिषालाइ के चाहिन्थयो र ?
घरजम हुन नसकेपछि बिरक्तिएकी लिम्बू दलालको लहैलहैमा लागेर अर्काको पासपोर्टमा विदेश पुग्नुभयो । उहाँ भन्नुहुन्छ, ‘श्रीमानसँग छुटेका कारण पनि म घर छाडेर विदेश गएँ ।’ उहाँका अनुसार माइतमा पनि राम्रो भएन । ‘के गराैँ भइरहेको बेला विदेश जाम भन्दै आएपछि उसको पछि लागेँ’ उहाँले सुनाउनु भयो, ‘पीरका कारण अर्काकै पासपोर्टमा विदेश गएँ ।’
यस्तै बाध्यतामा पर्नुभएको छ धनकुटाकी मनमाया अधिकारी पनि । अहिले कोसी हरैंचा नगरपालिकामा डेरा गरेर बस्ने अधिकारीलाई श्रीमान्ले सधै कुटपिट गरिरहने गर्नुहुन्थ्यो । घरको आर्थिक अवस्थाले लाउन खान पनि समस्यै थियो । घरमा श्रीमानले कमाएर एक पैसा पनि नदिएपछि उहाँलाई घर चलाउन नै समस्या भयो । धनकुटाको गाउँमा बस्न नसकेपछि धनकुटाबाट सुख खोज्दै कोसी हरैंचा झरेपनि सुखका दिन आएनन् मनमायाका लागि । उल्टो दुःखको भारी थपियो ।
श्रीमानको दैनिकको कुटपिट सहन नसकेपछि मर्नु भन्दा बहुलाउन नै निको भनेर उहाँ पनि विदेश हानिनु भयो, ७ वर्ष अघि । उहाँका अनुसार श्रीमानको यातना सहनुभन्दा विदेश नै जानु ठिक । ‘अरुहरुले पनि गएर कमाएको देखेकी थिएँ । केहि कमाइ हुन्छ कि भनेर नै विदेश जाने निधो गरेँ । आफंैले कमाएर आएँ भने त श्रीमानको यातना सहनु पर्दैन भनेर नै भारतको बाटो भएर विदेश हानिएँ ।’ मनमायाले घरको यातना कै कारण विदेश जानु परेको सुनाउनु भयो ।
कोसी हरंैचा मुनाल झोडाकी चित्रकला गुरागाईंको कथा झन् सुनिनसक्नुको छ । विवाह भनेको के हो भन्ने नै थाहा नहुँदा १४ वर्षमै विवाह गरेकी चित्रकला दुई वर्षसम्म त माइतमै बस्नुभयो । उहाँ घर गएको केही समयमै श्रीमानको दुर्घटनामा परेर निधन भयो । १८ वर्षको उमेरमा श्रीमानको मृत्यु हुँदा उहाँको पेटमा तीन महिनाको गर्भ थियो । श्रीमानको मृत्युपछि उहाँ घरमा बस्नै सक्नुभएन । उहाँ भन्नु हुन्छ, ‘श्रीमानको काम नसकिकन ‘पोइ टोक्यौ’ भन्न थाले । ‘दिन रातको यातना सहन नसकेपछि माइत आएँ ।’ उहाँले भन्नु भयो । ‘विवाह गरेकी चेलीलाई माइतमा पनि के राम्रो हुन्छ र ? ७ वर्ष माइतमा बसेपछि विदेश गएँ ।’ उहाँले विभेदका कारण नै विदेश जानुप¥यो । हिंसा र विभेदको भारी बिसाउन विदेश गएपनि चित्रकलाको दुःखको भारी विदेशमा पनि कम भएन । नौं महिनाभन्दा बढी उहाँले विदेशमा काम गर्न सक्नु भएन । अनि नेपाल फर्किनुभयो ।
मोरङको केरबारीकी उमा सुवेदी पनि नेपालमा राम्रो भएर कामका लागि विदेश जानु भएको होइन । श्रीमान वैदेशिक रोजगारीमा भएका बेला सासु ससुराले गर्ने दुव्र्यवहार अनि श्रीमानले पनि साथ नदिएपछि उहाँ विदेशीनुभयो । ‘उहाँले सात वर्ष बस्दा समेत एक रुपैयाँ पठाएनन्’ उमाले भन्नुभयो, ‘एकातिर श्रीमानको माया पनि पाइन अनि दुई जना छोराछोरी पाल्नु पनि पर्यो त्यही भएर विदेश जानु पर्यो।’ वैदेशिक रोजगार विभागका अनुसार कामका लागि विदेश जाने मध्ये ३ दशमलब ३२ प्रतिशत महिला छन् । अघिल्लो वर्ष मात्रै कानुनी तरिकाबाट १४ हजार ८ सय १३ जना महिलाहरु कामका लागि विदेश गए । यो बाहेक गैरकानुनी बाटोबाट विदेश जाने महिलाको संख्या धेरै छ । झट्ट हेर्दा महिलाहरु धन कमाउन र सुखको जिन्दगी बिताउनका लागि विदेश गइरहेको देखिए पनि विदेश गएर फर्किएकाहरुको कुरा सुन्दा महिलालाई हाम्रै समाज र परिवारले विदेश जान बाध्य पारिरहेको छ ।
सुरक्षित आप्रवासनका क्षेत्रमा काम गर्ने ओरेक नेपालकी कार्यक्रम अधिकृत शोभा बजगाइँ पनि महिलाहरु हिंसा, विभेद र यतनाका कारण विदेश गइरहेको बताउनुहुन्छ । उहाँका अनुसार ओरेकले बनाएको समूह र साथी शिक्षकले संकलन गरेको तथ्याङ्कमा पनि शारीरिक र मानिसिक हिंसा सहन नसकेपछि विदेशिएका महिलाको संख्या ठूलो छ ।



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्