आज पनि त्रिपक्षीय वार्ता हुँदै

मंसिर २७ – मधेस आन्दोलन सुल्झाउने विषयमा आइतबार पनि त्रिपक्षीय वार्ता हुने भएको छ । दिउँसो साढे १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरकार, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र आन्दोलनरत संयुक्त मधेसी मोर्चाबीच वार्ता हुन लोगेको हो ।
यसअघि पटक पटक भएको वार्तामा निष्कर्षबिहीन भएपनि दलहरु वार्ता र छलफलबाटै समाधान खोज्न तत्पर देखिएका हुन् । सरकार र प्रतिपक्ष कांग्रेसले दर्ता भएको संविधान संशोधन प्रस्ताव अघि बढाउने र सीमाङ्कनको विवाद तीन महिनाभित्र राजनीतिक सहमति मार्फत टुंग्याउन गरेको प्रस्ताव मोर्चाले अस्वीकार गर्दै आएको छ ।
शुक्रबार भएको  वार्तामा मोर्चाले प्याकेजमै समाधान खोज्नु पर्ने अडान राखेको थियो । वार्तामा संसदको गतिरोध अन्त्य गर्ने विषयमा पनि छलपल हुने छ । शुक्रबारको भएको वार्तामा कांग्रेस उपस्थित भएको थिएन ।
यसैबीच वार्तालाई परिणामुखी बनाउ नेपाली कांग्रेसले मोर्चाका नेतासँग छलफल गरेको छ । पार्टी सभापति सुशील कोइराला निवास महाराजगंजमा बिहान भएको छलफलमा तराई मधेसमा भैरहेको आन्दोलनको समाधान, संसद बैठकमा पुनर्निर्माण प्राधिकरण विधेयकसँगै संविधान संशोधन विधेयक पनि पेस गर्ने विषयमा छलफल कुराकानी भएको कांग्रेसले जनाएको छ ।
छलफलमा मोर्चाको तर्फबाट महन्त ठाकुर, हृदयश त्रिपाठीलगायतका नेताहरु पुगेका थिए । वार्ता र परिणामुखी बनाउन सत्ता पक्षले पनि मोर्चासँग अनऔपचारिक छलफल गरेको छ ।

संसद बैठक बस्दै

व्यवस्थापिका–संसद्को बैठक आज बस्दै छ । अस्ति शुक्रबारको बैठक कार्यसूचीको विषयलाई लिएर दलहरुबीच कुरा नमिलेपछि बैठक आज दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको थियो ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संविधान संशोधन र पुनर्निर्माणसम्बन्धी विधेयक दुवै पेश गर्नुपर्ने अडान राखेपछि बैठक बस्न सकेको थिएन ।  मधेसी मोर्चाले पुनर्निर्माण विधेयक मात्र टेबल गर्न दिने बताएको छ ।
मोर्चाकै माग सम्बोधन गर्नेगरी संविधान संशोधन विधेयक अघि बढाउन सत्तारुढ दलहरु समेत तयार भएपनि मोर्चाले मानेको छैन । आन्दोलनरत मधेसी मोर्चाको माग र भूकम्पपछिको पुनर्निर्माणमा सहमति खोज्ने प्रयासमा दलहरु केही दिनदेखि छलफलमा जुटेपनि सहमति नजुट्दा संसद् बैठक अवरुद्ध हुँदै आएको छ ।

,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्