धन कमाउन विदेश गएका श्रीमान कान्छी च्यापेर फर्केपछि -

सागरविक्रम बस्नेत/रामेछाप । हिमगंगा-७ मुर्गेकी अनिता मगर वित्तीय साक्षरता कक्षामा विदेशबाट आफन्तले पठाएको रकम कसरी सदुपयोग गर्ने भनेर सिक्दै हुनुहुन्थ्यो ।

सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारले विदेशमा रहेका सदस्यले पठाएको रकम सदुपयोग गर्न कक्षा चलाइरहेको थियो ।

त्यही कक्षाकी सहभागी हुनुहुन्थ्यो अनिता पनि ।

३ वर्षअघि ओमान गएका श्रीमानले पैसा पठाउलान् अनि त्यसलाई सही ठाउँमा लगानी गर्न सकिएला भन्ने सोच थियो अनिताको ।

साक्षरता कक्षामा बसेकै बेला अनिताका श्रीमान नैनबहादुरले पुस ९ गते घर आइपुग्छु भनेर खबर पठानुभयो । उहाँ खुसी हुनु भयो ।

श्रीमानले आइपुग्छु भनेको दिन पुस ९ गते बिहानैदेखि अनिताको मन फुरुङ थियो ।श्रीमानलाई मन पर्छ भनेर उहाँले त्यो दिन कुखुरा काटेर मासुभात पकाएर राख्नुभयो ।
आएको रात घरभन्दा तल बाटोमा रहेको गोठमा बिताएका श्रीमान अर्को दिन बिहान मात्रै घर आइपुगे, कान्छी श्रीमती लिएर । ‘पैसा नपठाउँदा अलि अलि शंका त लागेको थियो’ अनिता भन्नुहुन्छ, ‘तर सौता नै ल्याउलान भन्ने सोचेको थिइन ।’

१४ बर्षकै हुँदा नैनबहादुरसँग प्रेम बिबाह गरेकी उहाँका दुई छोरी छन् ।

जेठी छोरी अनिषा ८ वर्षकी भईन् भने कान्छी छोरी तुलसी अढाई बर्षकी मात्रै छिन ।

परिवारको आर्थिक अवस्था कमजोर भएकोले कमाउने सपना देखाँउदै ओमान गएका श्रीमान उतैबाट कान्छी श्रीमती लिएर आएपछि छोरीहरुलाई कसरी हुर्काउने भन्ने चिन्ताले सताउन थालेको छ अनितालाई ।

श्रीमान आएपछि केही गर्ने योजना बनाएर बसेकी अनिता अहिले काम गर्न त परको कुरा खाना बनाएर खान समेत जाँगर चल्दैन भन्नुहुन्छ ।

साक्षरता कक्षामा बस्दा विदेशको कमाइले के गर्न सकिन्छ भनेर सोध्ने अनि त्यही अनुसार योजना बनाइरहेकी अनिता अहिले चिन्तामा हुनुहुन्छ ।

त्यसैले उहाँ मनोसामाजिक समस्यामा पर्नुभएको छ ।

उहाँलाई परेको समस्या न्युनिकरण गर्न सदरमुकाम मन्थलीमा रहेको सूचना तथा परामर्श केन्द्रका मनोसामाजिक परामर्शदाताले मनोसामाजिक परामर्श दिइरहेको हिमगंगा गाविसका वित्तीय साक्षरता सहजकर्ता टुकराज तामाङले जानकारी दिनुभयो ।

,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्